काठमाण्डौ । काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा शुक्रबार यसवर्षकै सर्वाधिक चिसो महसुस गरिएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका धेरै ठाउँमा यो वर्षकै कम तापक्रम मापन गरिएको छ । पश्चिमी बायुुको प्रभावले चिसो हावा चलपछि देशभर नै चिसो बढेको महाशाखाले जनाएको छ । 

काठमाण्डौमा शुक्रबार बिहान यो वर्षकै कम १ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । शुक्रबार बिहान काठमाण्डौमा बाक्लो हुस्सुु लागेको थियो । बिहीबार पनि उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ४ डिग्री सेल्सियस थियो । 

महाशाखाका अनुसार वर्षा भएपछि डडेलधुरामा बिहीबार यो वर्षकै चिसो भएको छ । बिहीबार त्यहाँको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ३ डिग्री सेल्सियस मापन गरिएकोमा शुक्रबार बिहान भने बढेर माइनस शून्य दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । यसैगरी गएको २४ घण्टाको जिरीको न्यूनतम तापक्रम यो वर्षकै कम माइनस ३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । 

पहाड तथा तराईमा शितलहर तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । सुदूरपश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा शुक्रबार पनि पानी पर्ने अनुमान छ ।