काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सूर्तिजन्य पदार्थको बिक्रीवितरण पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ।

महानगरपालिकाले एक सूचना जारी गर्दै १५ दिनभित्र काठमाण्डौ महानगरपालिकाका सार्वजनिक स्थानहरुमा चूरोट सूर्ति तथा सूर्तिजन्य पदार्थको सेवन, बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाइएको प्रष्ट पारेको हो । 

काठमाण्डौ महानगरपालिकामा रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्याण, गृह, क्लबहरु, सार्वजनिक शौचालय, होटल, रेष्टुरेन्ट, छात्राबास, व्यायामशालाहरु, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायतका सार्वजनिक स्थलहरुमा ध्रुमपान, चूरोट, बिँडी, सिंगार, तमाखू, सुल्फा, कच्चा सूर्ति, खैनी, गुट्खा वा सूर्ति तथा यस्तै प्रकारका सूर्तिजन्य पदार्थलाई निषेध गर्न सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रष्ट व्यवस्था गरेको छ । यही ऐनमा टेकेर महानगरपालिकाले यस्ता पदार्थको प्रयोगले जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नुको साथै प्लाष्टिकमा प्याकेजिङ गरेर बिक्री गरिँदा त्यसले वातावरणीय प्रदूषण भई महानगरको शहरी सुन्दरतामा समेत प्रतिकूल प्रभाव परेको उल्लेख गरेको छ । 

महानगरले पहिलो चरणमा प्लाष्टिकको बट्टामा प्याकेजिंग गरिएका जस्तै खैनी, गुट्खा, पानपराग तथा यस्तै प्रकारका सूर्तिजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुम्रपानलाई अबको १५ दिनभित्र काठमाण्डौ महानगरभित्र बिक्रीवितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको प्रष्ट पारेको छ । 

यो सूचनाको अवज्ञा गरेमा हदैसम्मको कारबाही हुने महानगरले चेतावी दिएको छ ।