काठमाण्डौ । शनिवार बिहान काठमाण्डौसहित देशका विभिन्न क्षेत्रमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । 

योसँगै देशमा कोरोना संक्रमितको कूल संख्या ५४८ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाहीको गडैता र कविलासी नगरपालिकामा सबैभन्दा बढी १३ मा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ १८ देखि ३५ वर्ष उमेरका पुरुषहरुमा संक्रमण भेटिएको हो । 

यस्तै, कपिलवस्तुको बाणगंगा नगरपालिकाका ७ पुरुष र १ महिलामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितको उमेर १७ देखि ४२ वर्ष रहेको छ । 

रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका ८ पुरुषमा समेत संक्रमण फेला परेको छ । ती पुरुषको उमेर २० देखि ५५ वर्षको बीचमा रहेको छ । 

यसबाहेक काठमाण्डौ, चितवन र बारामा  १ १ संक्रमित थपिएका छन्। 

काठमाण्डौका ३५ वर्षका पुरुष, चितवनको भरतपुर ६ का ५२ वर्षीय पुरुष, बाराको करैयामाई गाउँपालिकाकी ३७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । 

हालसम्म नेपालमा कोरोनाका कारण ३ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये ७० जना निको भएर घर फर्किसकेका छन् ।