काठमाण्डौ । म्याद गुज्रिएको बटर (नौनी) बाट बनेको घिउ बिक्री प्रकरणमा दुग्ध विकास संस्थान (डीडीसी) र सुजल डेरी उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा मुद्दा दायर भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बटर उत्पादक सुजल र बिक्रेता डीडीसीले मिलोमतोमा गुणस्तरलाई ध्यान नदिएको भन्दै प्रशासनमा मुद्दा दायर गरेको हो। मुद्दामा सुजलका तर्फबाट गुणस्तर नियन्त्रक म्यानेजर नरेन्द्र डंगोल र डीडीसीमा बटर स्वीकार गर्ने आयोजनाका तत्कालीन निमित्त प्रमुख गोविन्दराज जोशीलाई विपक्षी बनाइएको छ। 

प्रशासनमा दायर अभियोगपत्रमा गुणस्तरलाई मिलेमतोमा बेवास्ता गरिएको उल्लेख छ । सुजलले बटरको उत्पादन, प्याकेजिङ, लेबल लगाउने र डीडीसीलाई सम्झौताअनुसार मख्खन वितरण गर्ने गरेको तर सो कारोबारको सम्झौता तथा विवरण लुकाइएको अभियोगपत्रमा उल्लेख छ।

दुवै पक्षको मिलेमतोमा बटर उत्पादन गरी म्याद नाघेको उत्पादन भण्डारण गरेको पाइएको विभागले जनाएको छ । सुजल र डीडीसीको मिलोमतोमा बटरको लेबल लुकाइएको र उक्त कसुर खाद्य नियमावली २०२७ को नियम १८ को एक –च) तथा उपनियम ७ को विरुद्ध भएको विभागको दाबी छ।

सुजलबाट डीडीसीले स्वीकार गरेको म्याद सकिएको र नसकिएको बटर डीडीसीले एउटै गोदाममा राखेको पाइएको पनि अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्रमा डीडीसीले उपभोक्तालाई हाल बिक्री गरिसकेको ९० हजार किलो बटर नष्ट गर्नुपर्ने अवस्थाको रहेको उल्लेख छ। डीडीसीले उपलब्ध गराएको मौज्दात विवरण कुल ९६ हजार ३०० किलो भए पनि सबै भने नष्ट गर्नुपर्ने अवस्थाको नरहेको अभियोगपत्रमा जनाइएको छ।