काठमाण्डौ। नेपालको सबैभन्दा ठूलो र पुरानो महानगरपालिका काठमाण्डौ महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ। 

यससँगै अबदेखि काठमाण्डौ महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर इसेवामार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो। इसेवा अकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सीधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने इसेवा अकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा प्वइन्टमार्फत कर भुक्तानी गर्न सक्नेछन्। 

स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा गरिएको छ। 

महानगरवासीले दुई तरिकाबाट इसेवामार्फत भुक्तानी गर्न सक्नेछन्। यसका लागि नगरवासीले सुरुमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आईडी लिनुपर्नेछ। त्यसपछि इसेवाको मोबाइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने काठमाण्डौ महानगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवामार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ।

हालसम्म बनेपा नगरपालिका, बासगढी नगरपालिका, बर्दघाट नगरपालिका, बेलौरी नगरपालिका, बिराटनगर महानगरपालिका, बिष्णुपुर गाउँपालिका, बुटवल उप महानगरपालिका, छथर जोरपाटी गाउँपालिका, धनगढीमाई नगरपालिका, धरान उपमहानगरपालिका, धुलिखेल नगरपालिका, गोदावरी नगरपालिका, गोकर्णेश्वर नगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, काठमाण्डौ महानगरपालिका, कावासोती नगरपालिका,  केराबारी गाउँपालिका, कीर्तिपुर नगरपालिका, मध्यविन्दु नगरपालिका, नमोबुद्ध नगरपालिका, पुनर्वास नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका, तिलोत्तमा नगरपालिका लगायतका स्थानीय तहमा इसेवामार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ। 

मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको छ। यसैगरी अप्रत्यक्ष रुपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। 

हाल इसेवाका देशभर करिब १ लाख ४० हजार  एजेन्ट (इसेवा जोन तथा प्वइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या ३ लाख नाघिसकेका छन्।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजकोलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।