काठमाण्डौ । काठमाण्डौ महानगरपालिको मतगणना ढिलाइप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ। 

मतगणनामा निकै ढिलाइ भइरहेकोप्रति आयोगको जानकारीमा रहेको आयोगको प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए। मतगणनालाई चाँडो गर्ने विषयमा आयोग छलफलमा रहेको भन्दै उनले कुनै उपाय लगाएर समाधान गर्ने प्रयास भइरहेको बताए। ‘काठमाण्डौ महानगरको मतगणनामा ढिलाइ भएकै हो। यस विषयमा हामी छलफल गरिरहेका छौँ। थप स्थानमा पनि मत गणना गर्नेगरी काम गर्छौं’, उनले भने। 

धेरै ठाउँबाट एकै पटक मतगणना गर्दा आयेगसँग उपलब्ध स्रोतसाधनले कतिको सम्भव छ भन्ने विषयमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भइरहेको उनको भनाइ छ। 

काठमाण्डौ महानगरपालिकामा १ मत गन्न २० मिनेटभन्दा बढी समय लागिरहेको छ। यस हिसाबले मत गन्न महिनौँ लाग्ने देखिन्छ। मतगणनामा ढिलाइ भएपछि दुई ठाउँ थप गरेको थियो। 

सुरुमा १ नम्बर र ३२ नम्बर वडाबाट मत गणना थालिएको थियो। पछि २,३,४ र ३१ वडाको मत गणना थालिएको थियो। 

३१ वैशाख बिहान १० बजेदेखि थालिएको मत गणना सोमबार अपरान्हसम्म आउँदा १४ हजारमात्र मतगणना भइसकेको छ। मतगणनामा ढिलाइ भएपछि आयोगले विकल्पको खोजी गर्न थालेको हो। 

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनको काठमाण्डौ महानगरको मतगणना १३ दिनमा सकिएको थियो। 

न्युज कारखाना