काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कात्तिक २० गतेदेखि सुरु हुने भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कात्तिक २० गते बजार खुल्नुअघि नै एक भव्य समारोहका बीच पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको उद्घाटन गरिनेछ ।

कात्तिक २० गतेको कारोबारबाट नै लगानीकर्ताले अनलाइन प्रणालीको अनुभव लिन पाउनेछन् । 

याक एण्ड यति होटलमा एक विशेष समारोहबीच अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबार प्रणालीको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

नेप्सेका सीइओ साउदले केही हप्ताअघि ब्रोकरहरुसँगको एक बैठकमा कात्तिक १५ गतेबाट अनलाइन कारोबार प्रणालीको सुरुवातका लागि तयार रहन निर्देशन दिएका थिए । तर, मक ट्रेडिङको अन्त र यूजर एसेप्टेन्स टेस्ट रिपोर्ट आउन केही ढिलाई भएका कारण अनलाइन सुरुवात गर्ने मिति ५ दिन पछि सरेको हो । 

नेप्सेले अनलाइन कारोबार प्रणालीको मक ट्रेडिङ असोज २ गतेदेखि सुरु गरेकोमा कात्तिक ११ गते स्थगित गरेको थियो । सोसँगै यूएटी रिपोर्ट समेत सकारात्मक आएपछि त्यसले अनलाइन कारोबार प्रणाली कार्यान्वयनको बाटो खोलिदिएको थियो । 

सेयर कारोबारको अनलाइन प्रणालीको सुरुवातसँगै देशको सेयर बजारको बिस्तार तथा विकास हुने र यसको दायरा समेत फराकिलो हुने अपेक्षा गरिएको छ । लगानीकर्ताले घरैबाट अनलाइन सेयर कारोबार गर्न सक्ने भएकोले विदेशमा भएका नेपालीले समेत सेयर कारोबारको मौका पाउनेछन् ।