काठमाण्डौ । आउँदो कात्तिक ७ गतेपछि नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा विज्ञापन बजाउन/देखाउन नपाइने भएको छ। यदि अटेरी भएमा त्यस्ता विदेशी च्यानलहरु कानुनमा भएको व्यवस्थाबमोजिम बन्द गर्ने सरकारले चेतावनी दिएको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सूचना जारी गर्दै आउँदो कात्तिक ७ गतेसम्म विदेशी च्यानलहरु क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने जनाएको छ। सू्चनामा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६(१) अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले विज्ञापनरहित प्रशारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ गरी प्रशारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐत प्रारम्भ भएको मितिले एक वर्षभित्र अर्थात २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रशारण गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको प्रस्ट पारेको छ। 

मन्त्रालयले भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघजस्ता संघसंस्थाबाट क्लिन फिड प्रशारणको म्याद थप्न माग गरिएको ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले ऐनको मर्म र भावनानुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गरेको छ। त्यसो नभएमा कानुनबमोजिम हुने मन्त्रालयले चेतावनी दिएको छ।