-रमेश लम्साल
काठमाडौँ । विसं २०७४ फागुन २७ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा पुगेर यही असार मसान्तभित्र काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन दिनुभएको थियो ।
यस्तै निर्देशक घिसिङले पाँचथरको जोरसल्लामा पनि आयोजनाको ठेकेदार, आयोजनाका प्रमुखलाई त्यस्तै निर्देशन दिनुभएको थियो । असार मसान्त बित्न अब एक साता मात्रै बाँकी रहेको छ । तर सो प्रसारण लाइनको काम अझै सम्पन्न हुन सकेको छैन ।
आयोजनाको प्रमुख अवरोधको रुपमा रहेको पाँचथरको जोरसल्ला र इलामको सिद्धिथुम्कामा निर्माणको काम शुरु भए पनि तत्काल पूरा हुने अवस्था छैन । बरु काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाले आगामी असोज २४ गतेसम्म ठेकेदारको म्याद थप गरिएको छ ।
आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले प्रसारण लाइन आयोजना निर्माण गरिरहेको ठेकेदारको म्याद थप गरिएको जानकारी दिनुभयो । स्थानीयले मुआब्जा माग गर्दै अवरोध गरेपछि प्रसारण लाइन निर्माणमा समस्या हुँदै आएको थियो ।
“थपिएको समयभित्रै प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ, अब अन्तिम पटक म्याद थपिएको हो”–आयोजना प्रमुख द्विवेदीले भन्नुभयो, “अवरोध रहेको दुवै स्थानमा हाल निर्माण कार्य शुरु भएको छ ।”
आयोजनाकाअनुसार प्रसारण लाइनको २३ वटा टावरको फाउण्डेशन नै निर्माण गर्न बाँकी रहेको छ । १९ टावर ठड्याउन बाँकी छ भने ३४ किलोमिटर लामो तार तान्न बाँकी रहेको छ ।
सो प्रसारण लाइनको निर्माणको जिम्मा ज्यागुर एण्ड एस्टर जेभी भारतले लिएको छ । पाँचथरको जोरसल्लामा आठ वटा टावरको डिजाइन नै परिवर्तन गर्नु परेकाले हालसम्म टावर निर्माण स्थलमा पुग्न सकेको छैन ।
सो प्रसारण लाइन नबन्दा विद्युत् उत्पादनको तयारीमा रहेका तीनवटा आयोजना पनि थप समस्यामा पर्ने भएका छन् । झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म ९० किमी लामो उक्त प्रसारण लाइन तीन खण्डमा बाँडेर निर्माण शुरु भएको हो । पहिलो खण्ड गोदक–दमक सञ्चालनमा छ भने दुईवटा खण्ड हाल निर्माणाधीन छ ।
आव २०६२÷६३ देखि शुरु भएको सो प्रसारण लाइन सम्पन्न हुन सकेको छैन । जग्गाको मुआब्जा वितरण, वनको स्वीकृतिलगायत समस्याले प्रसारण लाइनको निर्माणमा अवरोध हुँदै आएको हो ।
सो करिडोरमा हाल २५ मेगावाट क्षमताको काबेली ‘बी’ १, माउण्टेन हाइड्रोले प्रवद्र्धन गरेको २२ मेगावाटको तल्लो हेवाखोला र रैराङ हाइड्रोपावरले निर्माण गरेको १० मेगावाटको इवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेको छ । ती आयोजनाबाट कूल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
काबेली ‘बी’ १ को लगानी रु चार अर्ब ३० करोड, तल्लो हेवाको लगानी रु चार अर्ब तथा इवा खोलाको लगानी रु एक अर्ब ६० करोड छ । काबेली ‘बी’ १ को काम करीब सम्पन्न हुने अवस्था रहेको छ ।
सो आयोजनाका प्रमुख रमेशप्रसाद न्यौपानेले आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगे पनि प्रसारण लाइनको समस्या उस्तै रहेकाले विद्युत् खेर जान्छ कि भन्ने चिन्ता उत्पन्न भएको बताउनुभयो ।
कूल २२ मेगावाट क्षमताको तल्लो हेवा भने करिब चार महिनाभन्दा बढी लाग्ने देखिएको छ । नीजि उद्यमीले पटकपटक प्राधिकरणलाई छिटो प्रसारण लाइन बनाइदिन आग्रह गर्दै आएका छन् ।
प्राधिकरण निर्देशक रञ्जन चालिसे थप गरिएको समयभित्रै प्रसारण लाइन सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम शुरु गरिएको बताउनुहुन्छ । पछिल्लो पटक अवरोध रहेको स्थानमा समेत निर्माण शुरु भएको, तार तान्ने, टावर ठड्याउनेलगायत काम शुरु भएकाले थप गरिएको समयभित्र प्रसारण लाइन निर्माण सम्पन्न हुने चालिसेले जानकारी दिनुभयो ।
प्रसारण लाइनको ‘राइट अफ वे’ मा पर्ने जग्गाको मुआब्जा वितरणमा स्थानीयबासीले चित्त नबुझाउँदा लामो समयदेखि अवरोध हुँदै आएको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19