विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन्। उनले कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न निर्देशन पनि दिए। 

विराटनगर भन्सार निरीक्षणका क्रममा बिहीबार मन्त्री महतले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन्। ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन’, उनले भने, ‘भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ तपाइँंहरुले राम्रो गर्नु हुनेछ, राम्रो गर्न कोसिस गरिराख्नु भएको छ।’

‘कुनै पनि कर्मचारीले पारदर्शिता, कर्तव्यनिष्ठा देखाउने छन् भन्ने कुरामा मलाई विश्वास छ, यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निक्कै बढ्ने मैले अपेक्षा गरेको छु’, मन्त्री महतले भने, ‘राजश्व बढाउन हामीले करदातालाई अनावश्यक दुःख दिनुहुँदैन। तर, नियम कानुनले दिएको छ, त्यसमा कर्मचारीले कार्यान्वयन गर्न चुक्नु हुँदैन भनेर अनुरोध गर्छु।’

‘समग्रमा हामी पारदर्शीका साथ हामी काम गरौँ, सेवाग्राहीलाई सहज र सौहद्रपूर्ण वातावरण निर्माण गरौं, नियम, कानुनमा उनीले तिर्नुपर्ने कुरा छ भने उनीहरुले तिर्नुपर्छ’, उनले भने, ‘हामीले गर्नुपर्ने काममा सम्झौता नगरौँ।’ कर्मचारीको कामका आधारमा अर्थमन्त्रालयले दृष्टिकोण बनाउँछ, कामभन्दाबाहेक अन्य कुनै कारण अथवा पृष्ठभूमिबाट तल–माथि लैजाने र ल्याउने काम अर्थ मन्त्रालयले गर्दैन। जिम्मेवारी बहन एउटैमात्र आधार हो। यहीअनुरुप काम गर्न म सम्पूर्ण कर्मचारी साथीहरुलाई अनुरोध गर्छु।’