काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आज माघ २२ गतेदेखि १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। 

बैंकले रु. १ हजार अंकित दरका १० लाख इकाइ भएका ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर–२९८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तवर र बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो। यो ४ लाख इकाइमा पनि २० हजार इकाइ भने सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। ऋणपत्रमा छिटोमा माघ २६ गतेसम्म र सो अवधिमा सबै ऋणपत्र बिक्री नभएमा फागुन ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यस ऋणपत्रमा आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो सेयरबाट समेत आवेदन दिन सकिनेछ।

यो ऋणपत्रलाई केयर रेटिङ नेपालले केयर आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ। 

बैंकको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउनेछन् भने ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ। 

यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत माघ २ गते निष्कासन अनुमति दिएको थियो।