काठमाण्डौ । सिधा कुरा जनतासँग कार्यक्रममार्फत चर्चामा रहेका पत्रकार रवि लामिछानेले बुधबार गृहमन्त्रालयमा अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धी निवेदन दिएका खुलेको छ ।

विगत ४ वर्षदेखि नेपालको अध्यागमन कानुन, श्रम कानुन, प्रेस कानुन उल्लंघन गर्दै आएका रवि लामिछानेमाथि आवश्यक कारबाही हुनुपर्ने माहौल सिर्जना भइरहेको र पछिल्लो समय उनको आलोचना भइरहेको बेलामा आफूहरुलाई लामिछानेले अमेरिकी राहदानी र नागरिक परित्याग गर्ने निवेदन दिएका गृहमन्त्रालयबाट जानकारी प्राप्त भएको प्रेस काउन्सिल नेपालले विज्ञप्तिमार्फत जनाएको छ । 

‘न्यूज २४ मा कार्यरत रहँदाका बखत लामिछानेद्वारा प्रसारित कार्यक्रमबारे परेका दुईवटा उजुरीको छानबिनका क्रममा २०७४ चैत २३ गते स्पष्टीकरण सोधिंदा उहाँले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको झूठो दाबीसहित प्रेस काउन्सिललाई २०७५ बैशाख ६ गते लिखित जवाफ दिनुभएको थियो ।’ काउन्सिलको विज्ञप्तिमा भनिएको छ–‘त्यसपछि पनि सामाजिक सञ्जालमार्फत् अशिष्ट, अपुष्ट र आपत्तिजनक टिप्पणीहरु प्रेस काउन्सिलका सन्दर्भमा पोष्ट गर्दै आउनुभएपछि काउन्सिलले उहाँको नेपाल बसाई र यहाँ रहँदा काम गर्ने वैधताबारे सम्बन्धित निकायहरुमा २०७५ असार ४ गते पत्राचार गरेको थियो । त्यसको ४८ घण्टा नबित्दै २०७५ असार ६ गते निज लामिछानेले आफूले अमेरिकी दूतावासमा रु. २,५८,५००।— दस्तुर बुझाई अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको जानकारी गराउँदै अध्यागमन विभागलाई निवेदन दिनुभएको छ ।’ 

नेपालमै रही सञ्चारसम्वद्ध पेशा व्यवसायमा संलग्न हुने उनको व्यक्तिगत रुचीको आफूहरुले कदर गर्ने काउन्सिलले प्रष्ट्याएको छ । काउन्सिलले उनलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेशागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाई वा प्रस्तुतिहरुमा शिष्टता, जिम्मेवारीवोध र पेशागत शुद्धताको ख्याल गर्दै विद्युतीय कारोबार ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानुनहरुको समेत उल्लंघन नहुने कुरामा ध्यान पुर्याउन समेत निर्देशन दिएको छ ।