काठमाण्डौ । नेपाली बजारमा यो साता कारोबारको पहिलो दिन आइतबारदेखि नै बढ्दै आएको छापावाला सुनको भाउ शुक्रबार अन्तिम दिनमा आइपुग्दा भने स्थिर बन्दै रु.७० हजार नै कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबारको सुनको भाउमा प्रतितोला रु. ५०० ले बढेर यो साताको पहिलो आइतबार ६६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता यो साता बिहीबारसम्म सुनको भाउ तोलामा रु. ४ हजार २०० ले बढेर रु. ७० हजारमा कारोबार भएको छ। साताको अन्तिम दिन शुक्रबार सुनको भाउ स्थिर रहँदै तालाको रु. ७० हजारमै कारोबार भएको छ ।

त्यसो त नेपाली बजारमा सुन प्रतितोला ७० हजार पुगेको यो नै पहिलो रेकर्ड हो । अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको अस्थिरता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्थनीति, कश्मीर तनाव र स्थानीय माग कम भएका कारण नेपालमा सुनको भाउ लगातार बढिरहेको व्यवसायी र अर्थशास्त्रीहरु बताउँछन् ।

यसैगरी यो साता कारोबारको पहिलो दिन आइतबार तेजाबी सुन प्रतितोला रु. ६६ हजारमा कारोबार भएको अन्तिम दिन शुक्रबार आइपुग्दा रु. ६९ हजार ७०० कायम भएको छ । त्यस्तै चाँदी पनि आइतबार प्रतितोला रु. ७७९ देखि कारोबार सुरु भएको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा प्रतितोला रु. ८२५ पुगेको छ ।

यता सुनको मूल्य दिनप्रतिदिन उच्चतम विन्दुमा पुगेसँग बजारमा किनबेच ठप्पजस्तै हुन थालेको छ। बजारमा सुन किन्नेभन्दा बच्नेको चाप बढ्न थालेपछि पछि भाउमा गिरावट आउने डरले व्यवसायीहरुले किन्न नमान्ने गरेको ग्राहकहरु बताउँछन् ।

व्यवसायीहरुले भने ग्राहकले सहजै रुपमा सुन ल्याएर बेच्न सक्ने दाबी गरिरहेका छन् ।