काठमाण्डौ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पर्खाईमा रहेका लगानीकर्ताहरुले साताको पहिलो कारोबार दिन आइतबार पनि विकास बैंक र फाइनान्स कम्पनीहरुलाई नै रोजेका छन् । यी कम्पनीका लगानीकर्ताहरु मालामाल बने पनि बजारलाई माथि उकास्न वाणिज्य बैंकहरुले महत्वपूर्ण भूमिका खेले । 

आइतबार नेप्से परिसूचक ६.८१ अंकले उक्लिएर १७२२.५३ अंकको उचाईमा पुगेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक १३.४१ अंकले उक्लिएको छ भने वाणिज्य बैंक समूहमा समेत ११.०५ अंकको बढोत्तरी देखिएको छ । फाइनान्स कम्पनीहरु समावेश समूहको सूचक ७.१२ अंकले बढ्दा होटल र उत्पादनमूलक समूह क्रमशः ५.८१ र ५.४६ अंकले उक्लिए । 

यो साताको पहिलो दिन पनि बिमा समूहको कारोबार खस्कियो । यो समूहको सूचक ४८.१६ अंकले ओरालो लाग्यो । जलविद्युत समूहको सूचकमा पनि १७.९१ अंकको गिरावट देखियो । अन्य समूह भने स्थिर रह्यो । वाणिज्य बैंकहरुको कारोबार सुध्रदा आइबार सेन्सेटिभ इण्डेक्स र फ्लोट इण्डेक्स क्रमशः १.५५ र ०.५ अंकले उक्लिए । 

आइतबार बजारमा कुल १४५ कम्पनीका २२ लाख १७ हजार ९ सय ७३ कित्ता सेयर १ अर्ब ४३ करोड ७० लाख ४६ हजारमा किनबेच भयो । 

बढी कारोबार गर्नेहरु
आइतबार सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भयो । यो कम्पनीको मात्र ११ करोड १४ लाखको सेयर किनबेच भयो । त्यसपछि क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ४२ लाखको सेयर किनबेच भयो भने नेपाल बंगलादेश बैंकले ४ करोड २६ लाख रुपैयाँको कारोबार गर्यो । रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरले ४ करोड १८ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३ करोड ८९ लाख, साना किसान विकास बैंक लिमीटेडले ३ करोड ७८ लाख, लाइफ इन्स्योरेन्स कम्पनी नेपालले ३ करोड ३१ लाखको सेयर कारोबार गरे । यसैगरी, लुम्बिनी जनरल इन्स्योरेन्सको ३ करोड ३१ लाख, यति डेभलपमेन्ट बैंक लिमीटेडको ३ करोड १६ लाख र फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको ३ करोड १५ लाखको सेयर किनबेच भयो । 

धेरै कमाउने कम्पनी
आइतबार धेरै कमाउने कम्पनीमध्ये उत्कृष्ट १०को सूचिमा लघुवित्त कम्पनी, विकास बैंक र फाइनान्सले एकछत्र राज गरे । सबैभन्दा बढी कसमस डेभलपमेन्ट बैंक लिमीटेडका सेयरधनीको करिब १० प्रतिशतले सम्पत्ति बढ्यो भने त्यसपछि क्रमशः सिन्धु विकास बैंक लिमीटेड, मनास्लु विकास बैंक लिमीटेड, यति डेभलपमेन्ट बैंक लिमीटेड, जानकी फाइनान्स लिमीटेड, युनियन फाइनान्स कम्पनी लिमीटेड, ओम डेभलपमेन्ट बैंक लिमीटेडले कमाए । गुड्विल फाइनान्स कम्पनी लिमीटेड, नयाँ नेपाल लघुवित्त विकास बैंक लिमीटेड र फेवा विकास बैंक लिमीटेडका लगानीकर्ता पनि मालामाल भए । यी कम्पनीहरुले ५.६१ प्रतिशतदेखि माथिको आम्दानी बढाए । 

धेरै गुमाउने कम्पनी
धेरै गुमाउने कम्पनीको सूचिमा बिमा कम्पनीहरु पनि परे । सबैभन्दा धेरै कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडको प्रोमोटर सेयरधनीले गुमाउनुपर्यो । यसैगरी,  नमस्ते बित्तीय संस्था लिमीटेड, एनएलजी इन्स्योरेन्स, राष्ट्रिय विमा कम्पनी लिमीटेड प्रोमोटर सेयरधनी, नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेड, नेपाल ग्रामीण विकास बैंक लिमीटेड, आइएलएफसी माइक्रो फाइनान्स बित्तीय संस्था, एनआइडीसी क्यापिटल मार्केट्स लिमीटेड, सिद्धार्थ इन्स्योरेन्स लिमीटेड, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडका लगानीकर्ताले समेत गुमाए ।