काठमाण्डौ । आज बिहीबार कीर्तिमानी कारोबार भएको सेयर बजारमा भने सामान्य अंकको करेक्सन आएको छ।
आज बजारमा पौने १५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। यो हालसम्मकै उच्च कारोबार हो। यसअघि गत सोमबार हालसम्मकै १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ बढीको सेयर करोबार भएको थियो।
आज सुरुआती चरणमा निकै तल ओर्लेको नेप्से परिसूचक कारोबारको मध्यान्तरपछि उकालो लागे पनि अन्तिममा १.२० अंकले घटेको हो। योसँगै परिसूचक २८१५.४० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.२८ अंकको झिनो गिरावटका साथ ५०३.७१ को विन्दुमा समेटिएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे राष्ट्र बैंकको पछिल्लो सर्कुलरका कारण आज बजारमा सामान्य उतारचढाव देखिएको बताउँछन्। ‘समग्रमा बजार सामान्य अंकले घटेको छ, यसलाई करेक्सनकै रुपमा लिनुपर्छ’, उनले भने, ‘राष्ट्र बैंकको सर्कुलरको प्रभाव लघुवित्तमा परेको छ, अन्य सेक्टर चलेकै छन्।’
आज जलविद्युत कम्पनीमा उछाल आउनुको मुख्य कारण विद्युत नियमन निकायले बैंकको ऋण तिर्न हकप्रदको बाटो खोल्ने प्रक्रिया अगाडि बढाउनु नै हो।
सामान्य करेक्सन आए पनि कारोबारले भरभूर साथ दिएकोले बजार सकारात्मक नै रहेको छ भनेर बुझ्नुपर्ने घिमिरे बताउँछन्। ‘बजारमा अहिले थुप्रै लगानीकर्ता भित्रिएका छन्, तीमध्ये पनि बुझेका लगानीकर्ताहरु सक्रिय रुपमा सेयर करोबारमा लागेका छन्’, उनले भने, ‘जसका कारण कारोबार रकम बढेको छ, यसले दीर्घकालमा बजारलाई राम्रै प्रभाव पार्छ।’
अर्का बजार जानकार मेघनाथ निरौला पनि आज बजार घट्नुलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘अझै बजारमा १–२ करेक्सन आउन सक्छ’, उनले भने, ‘तर राष्ट्र बैंकको सर्कुलरले बजार प्रभावित होला भनेर नतर्सिए पनि हुन्छ, उक्त सर्कुलरले बजार प्रभावित हुँदैन, राष्ट्र बैंकले बैंकहरुलाई सचेत गराएको मात्र हो।’
बजार अझै बढ्न बाँकी रहेकोले राम्रा कम्पनीमा लगानी गरे उचित प्रतिफल निकाल्न सकिने निरौलाको भनाइ छ। ‘निर्धक्क भएर लगानी गर्दा हुन्छ’, उनले भने, ‘अझै पनि सेयर बजारमा अवसर रहेको छ।’
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। आज व्यापार समूह सर्वाधिक २८१.५३ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह १४२.२९ अंकले बढेको आज विकास बैंक समूहमा ११४.३० अंक, वित्त समूहमा ३६.८१ अंक, जलविद्युत समूहमा १३१.७८ अंक, उत्पादन तथा प्रशोन समूहमा ३२.६० अंक र म्युचुअल फन्ड समूहमा ०.०८ अंकको बढोत्तरी भएको छ।
आज लघुवित्त समूह सर्वाधिक १९१.६९ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह १३६.३६ अंकले घटेको आज बैंकिङ समूहमा ६.४६ अंक, होटेल तथा पर्यटन समूहमा २०.०८ अंक, लगानी समूहमा ०.६७ अंक र अन्य समूहमा २४.०२ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २१५ कम्पनीका ४ करोड १८ लाख १३ हजार ९४४ कित्ता सेयर १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार ४२ रुपैयाँमा किनबेच भएका छन्।
आज अपी पावरको सर्वाधिक ४३ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेलीको ३७ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन चिलिमेको ३७ करोड ३ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ३५ करोड ५४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ५१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २९ करोड ७४ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २७ करोड ११ लाख रुपैयाँ, बुटवल पावरको २५ करोड ९१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २५ करोड २० लाख रुपैयाँ र छिमेक लघुवित्तको २२ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १९ वटा जलविद्युत कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। खानीखोला, युनाइटेड मोदी र नेपाल हाइड्रोको सेयरमूल्यमा १० प्रतिशत तथा अरुण काबेली, रिडी, जोशी, अपी, दिव्यश्वरी, राधी, शिवश्री, हिमाल दोलखा, सानिमा माई, पञ्चकन्या माई, नेसनल, बुटवल पावर, युनियन, घलेम्दी, युनिभर्सल पावर र आँखुखोला जविद्युत कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन माउन्टेन हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
आज समता घरेलु लघुवित्त र मेरो माइक्रोफाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी दुवै लघुवित्तको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19