– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिनामा सेयर लगानीकर्ताले २ अर्ब पुँजीगत लाभकर तिरेका छन्। 

सीडीएससीको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पुँजीबजारबाट ४२ करोड ६ लाख रुपैयाँबराबर राजस्व संकलन गरेको छ। जसमा दीर्घकालीनभन्दा अल्पकालीन लगानीकर्ताले झन्डै ७० प्रतिशत बढी पुँजीगत लाभकर तिरेका छन्।

त्यसैगरी दोस्रो महिना भदौमा पनि सरकारले जम्मा डेढ अर्ब रुपैयाँमात्रै पुँजीबजारबाट राजस्व प्राप्त गरेको छ। 

पछिल्लो २ महिनामा सरकारले पुँजीबजारबाट उठाएको राजस्वको ठूलो हिस्सा लगानीकर्ताहरुले धमाधम आईपीओमा परेको सेयर बेचेबापत गरेको नाफाबाट प्राप्त पुँजीगत लाभकरको रकम रहेको बजार जानकारहरु बताउँछन्। ‘अहिले आईपीओमा परेको सेयर लिस्टिङ भएर कारोबार हुनासाथ नाफा भएको खण्डमा लगानीकर्ताहरुले बेचिहाल्छन्’, एक बजार जानकारले भने, ‘त्यसैले यो २ महिनामा सरकारले प्राप्त गरेको राजस्वमा त्यस्ता लगानीकर्ताले तिरेको पुँजीगत लाभकरको हिस्सा ठूलो रहेको छ।’ 

हाल पुँजीबजारमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि पुँजीगत लाभकरमा फरक–फरक व्यवस्था रहेको छ। ३६५ दिनभन्दा कम अवधि सेयर होल्ड गर्ने अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशत र ३६५ दिनभन्दा बढी सेयर होल्ड गर्ने दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत लाभकरको व्यवस्था छ। संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ। 

चालु आर्थिक वर्षमा पुँजीबजारबाट मात्रै सरकारले करिब ४० अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ। यो हिसाबले सरकारले मासिक सवा ३ अर्ब रुपैयाँ बढी राजस्व संकलन गर्नुपर्छ। 

पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा सरकारले करिब २ अर्ब रुपैयाँमात्रै राजस्व संकलन गरेको छ। यसले चालु आर्थिक वर्षमा पनि पुँजीबजारबाट सरकारले उठाउने भनेको राजस्वको लक्ष्य भेट्याउन मुस्किल रहेको देखिन्छ।

लक्ष्यअनुसार राजस्व नउठ्ने भएपछि सरकारले संस्थागत लगानीकर्तालाई प्रोत्साहन हुने गरी १२ करोडको क्याप हटाएर भए पनि राजस्व उठाउने रणनीतिमा रहेको कर विज्ञहरु बताउँछन्।