काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा यो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकांकमा झिनो अंकले गिरावट आएको छ ।
लगानीकर्ताहरुमा विस्तारै बजारप्रति बढ्दै गएको आत्मविश्वासले कारोबार रकममा बढोत्तरी आएको आजका दिन व्यापार र बैंकिङ समूहले बजारलाई सकारात्मक गति दिए पनि नेप्स सूचकांक भने झिनो अंकले मात्र गिरावट आयो ।
नेप्सेले हिजो बुधबारबाट नट्समार्फत सानिमा डिबेन्चर र आज एनआईसी एसिया डिबेन्चरको कारोबार थालेसँगै ऋणपत्रको कारोबारमा समेत विस्तारै लगानीकर्ताहरु चासो बढ्दै गरेको पाइन्छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले पुँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्कासन गर्नुपर्ने प्रावधानमा टेक्दै बैंकहरुले समेत धमाधम ऋणपत्र जारी गरिरहेका छन् भने नेप्सेमा सूचीकृत भई कारोबार हुने क्रमले पनि निरन्तरता पाइरहेको छ । ऋणपत्रको कारोबारलाई प्रणालीमा आबद्ध गरेर नेप्सेले सहजै दोस्रो बजारमा खरिदबिक्री गर्न पाउँदा लगानीकर्ताहरुको चासो र आकर्षण दुवै बढिरहेको देखिन्छ ।
बजारको ट्रेन्डलाई बुझ्दा अब ऋणपत्रको कारोबारले समेत तीव्रता पाउने त छँदैछ यसमा रहेको कर समायोजनको जटिलतालाई भने नियामकले बेलैमा सम्बोधन गर्दै लगानीको विकल्प रहेको ऋणपत्रमा समेत बढावा दिए पुँजीबजारका लागि कोशेढुंगा हुने देखिन्छ ।
यसैबीच करिब दुई दशकपछि लाभांश प्रस्ताव गरेको नेपाल बैंकमा आज लाभांश बुक गर्न लगानीकर्ता झुम्मिएपछि यो स्क्रिप्टको मात्रै १३ करोड रुपैयाँ बढीको कारोबार भयो ।
आजको दिन नेप्से परिसूचक ०.६२ अंकको गिरावट आउँदा ११६७.४१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ०.३६ अंकले घट्दा २५४.३६ अंकमा सीमित बन्न पुग्यो ।
यस दिन नेप्सेमा रहेका १२ वटा उपसमूहमध्ये ४ वटामा मात्र हरियाली छायो भने बाँकी ८ वटामा रातो पोतियो ।
यो दिन व्यापार समूहमा सबैभन्दा बढी ३५.७२ अंकको बढोत्तरी आयो । त्यस्तै बैंकिङ, विकास बैंक र जीवन बिमा समूहमा क्रमशः ०.६९, २.२९ र १६.५५ अंकको बढोत्तरी भयो ।
आजको दिन सबैभन्दा बढी निर्जीवन बिमा र उत्पादन तथा प्रशोधन समूहमा क्रमशः २४.६७ र २४.२६ अंकको गिरावट आयो । त्यस्तै होटेल्स, जलविद्युत, वित्त, अन्य, लघुवित्त र म्युचुअल फन्डमा क्रमशः ९.८८, ६.४७, १.२५, ०.२५, ०.७३ र ०.०३ अंकको गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यस दिन नेप्सेमा सूचीकृतमध्ये १७२ कम्पनीका १६ लाख ४१ हजार २११ कित्ता सेयर ५८ करोड ८६ लाख ७७ हजार ८८७ रुपैयाँमा कारोबार भयो ।
यो दिन सबैभन्दा बढी नेपाल बैंकको १३ करोड २२ लाख रुपैयाँबराबरको कारोबार भयो । त्यस्तै एनआईसी एसिया डिबेन्चरले पनि ६ करोड १ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भयो । कृषि विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक र हिमालयन डिस्टिलरीले क्रमशः ४ करोड २८ लाख, २ करोड ३८ लाख, २ करोड २० लाख र २ करोड १२ लाख रुपैयाँबराबरको कारोबार गरे ।
आजको दिन एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट, एनएमबी बैंक र एसटीसीले पनि क्रमशः १ करोड ४७ लाख, १ करोड ४७ लाख, १ करोड ३४ लाख र १ करोड २८ लाख रुपैयाँबराबरको कारोबार गर्न भ्याए ।
धेरै कमाउने र गुमाउने
यो दिन नेपाल सेवा लघुवित्त र एसटीसीका सेयरधनीहरुले धेरै कमाए । यी दुवै कम्पनीको सेयरमूल्यमा क्रमशः ८.८० र ८.३४ प्रतिशतले वृद्धि भयो ।
आज पाँचथर पावर कम्पनीका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा झन्डै ५ प्रतिशतले गिरावट आयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago