काठमाण्डौ । दोश्रो बजारमा कारोबार समय १ घण्टा थप गरेसँगै समयावधि घटाउन ब्रोकरहरुले तीव्र लबिङ गर्न थालेका छन् । 

नेपाल धितोपत्र बोर्डले सेयर कारोबार समय १ घण्टा थप गरेपछि  ब्रोकर कमिसन पनि घटाउने तयारी गरेको सुइँको पाएका ब्रोकरहरुले थप गरिएको कारोबार समयको गोप्य रूपमा विरोध गर्दै निस्तेज पार्न भगीरथ प्रयास थालेका हुन् । 

पछिल्लो समय अनलाइन युजर बढेसँगै कारोबार रकममा वृद्धि भएको र ब्रोकर संचालन खर्च मेन्टेन हुँदै जानु अनि लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउन दवाब दिएपछि बोर्डले कमिसन घटाउन लागेको उच्च स्रोतको दाबी छ। यो विषयमा हाल अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दै र समयसापेक्ष ब्रोकर कमिसन बनाउन कमिसन घटाउने लगभग तयारी अवस्थामा रहेको बोर्डले पुष्टि गरेको छ । 

दोश्रो बजारमा बढ्दै गइरहेको सहभागिता, आउन थालेका नयाँ ५० थप ब्रोकर र बैंकका सहायक कम्पनीमार्फत समेत ब्रोकरेज सेवा समेत थप भएपछि दोश्रो बजारको विस्तार व्यापक हुने भएकाले समेत बोर्डले कारोबार समय बढाउने दीर्घकालीन निर्णय लिएको बताइन्छ ।

कारोबार समय बढाउँदा बजारमा अनावश्यक चलखेलमा न्यूनीकरण हुने र सहज ढंगले लगानीकर्ताहरुले सेयर खरिदबिक्री गर्न पाउन् भन्ने उद्देश्यले कारोबार समय बढाइएको बोर्डको भनाई छ । 

हिजो(आइतबार)देखि सेयर कारोबार समय ५ घण्टा बनाइएकोमा ब्रोकर कम्पनीमा सेटलमेन्ट, हिसाबकिताब लगायतका कामहरू बढ्ने भएपछि थप गरिएको समय सबैभन्दा बढी घाँडो ब्रोकरहरुलाई भइरहेकोले विरोध गरिएको बताइएको छ । 

कारोबार रकम बढेपछि आम लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउन ठूलो दवाब आइरहेकाले थप गरिएको समयमा कारोबार रकम बढ्न गई अझ ब्रोकर कमिशन घटाउन दवाब चर्किने भएकाले समेत ब्रोकरहरुले ५ घण्टे कारोबार समय घटाउन दवाब सिर्जना गर्न थालेका हुन् । 

स्रोतकाअनुसार हिजो अनामनगरस्थित एक ब्रोकर कम्पनीका संचालकले लगानीकर्ताका नेतालाई बोलाएर कारोबार समय घटाउन पहल गरिदिन अनुरोध गरेका थिए । विभिन्न मिडियामा उनीहरूले सोही योजना अनुसार थप गरिएको कारोबार समयको खुलेरै तीव्र विरोध जनाइसकेका छन् । 

पछिल्लो समय कारोबार संख्या र रकममा भारी बढोत्तरी भए पनि ब्रोकर कम्पनीहरु नयाँ जनशक्ति थप गर्न चाहदैनन् र भएकै कर्मचारीले काम सकाउने उद्देश्य भएकाले समेत थप गरिएको समयप्रति ब्रोकरहरु असन्तुष्ट छन् । 

हुन त पछिल्लो समय ब्रोकर हाउसमा ब्रोकर कम्पनीका १ प्रतिशत लगानीकर्ता मात्रै उपस्थित हुने गरेका छन्, बाँकीले अनलाइन लिएर, फोन म्यासेज गरेरै सेयर खरिदबिक्री गर्ने गरेका ब्रोकर कम्पनीमा कार्यरत एक कर्मचारी बताउँछन् । 

सेयर कारोबार अवधि पाँच घण्टाको हुँदा साधारण सेयर लगानीकर्ता भने बजार विस्तारका लागि राम्रो हुने बताउँछन् । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार थप गरेको १ घण्टा समयले बजार विस्तारमा सहयोग पुगेको जिकिर गर्छन् । ब्रोकर हाउसमा भेटिएका अधिकांश लगानीकर्ताहरु पनि थप गरेको समयमा खुशी नै भेटिए ।