– अनन्त्य सुन्दर

काठमाण्डौ । आज दोहोरो अंकले घटेर सेयर बजार २७५७.५३ को विन्दुमा बन्द भएको छ। कारोबार रकम सवा ४ अर्ब रुपैयाँ बढीको मात्रै भएको छ। 

गत अगस्ट १६ मा नेप्से परिसूचक ३१९९.०३ को विन्दुसम्म पुगेको छ। उच्च कारोबार भने अगस्ट १५ मा २१ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको भएको थियो। 

पछिल्लो समय बजारमा गिरावट आउन थालेपछि कारोबार रकम ४–५ अर्ब रुपैयाँमा खुम्चिन पुगेको छ। 

बजारमा कारोबार खुम्चिनुको प्रमुख कारण तरलता अभाव, ब्याजदर वृद्धि, सेयर धितो कर्जामा कडाइ, सरकारको बजेट खर्च नहुनुका साथै अर्थमन्त्री बजारप्रति सकारात्मक नभएकाले भन्ने आरोप आमलगानीकर्ताका साथै लगानीकर्ता संघ–संगठनका नेताहरुले लगाउँदै आएका छन्।

अहिले बजार गिरावट हुनुका साथै कारोबार नहुँदा धेरैजसो ब्रोकरका सञ्चालकहरु टिकटकमा भिडियो हेर्दै गफमा मस्त भेटिन्छन्। ‘बजार घटेसँगै कारोबार पनि घटेको छ। बजार ३२०० मा हुँदा धेरै लगानीकर्ताको लगानी फसेको छ। त्यसैले अहिले अधिकांश लगानीकर्ता चुप छन्’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘कारोबार भएन भनेर अफिस बन्द गर्ने कुरा पनि भएन। त्यसैले काम पनि छैन, फुर्सद पनि छैन।’

‘नीतिगत रुपमा ठूलो परिवर्तन नआएसम्म बजार साइडवेज जान्छ’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘लकडाउनको बेला धेरैजसो व्यवसायहरु बन्द थिए। ती व्यवसायका सञ्चालकहरुले आफ्नो सबै पैसा बजारमा लगाएको थिए। अहिले कोरोनाको जोखिम कम भएसँगै व्यवसायहरु सञ्चालन भएकाले ती व्यवसायीहरु पुनः सेयर बजार प्रवेश नगर्ने देखिन्छ।’ 

टुरिस्ट इन्भेस्टरहरु बजार प्रवेश गर्ने सम्भावना कम भएसँगै बजारमा फेरि २२ अर्बको कारोबार हुन गाह्रो हुने ती सञ्चालकको भनाइ छ। ‘बजारले अहिले मौद्रिक समीक्षा पर्खिरहेको देखिन्छ। बजारका ठूला खेलाडीहरु अहिले प्रवेश गरेका छैनन्। त्यसैले मौद्रिक समीक्षामा पोजेटिभ कुरा आएसँगै पुनः कारोबार रकम बढ्ने देखिन्छ’, ती सञ्चालकले भने, ‘बैंकहरुमा पैसा नभएकाले बैंकहरुबीच निक्षेप तानातान छ। त्यसैले पनि कारोबार हुन नसकेको हो।’