काठमाण्डौ । नेपाल फ्रेट फरवार्डरस एसोसिएसन (नेफा)ले लागूऔषध नियन्त्रण ब्युरोको सहकार्यमा आयात–निर्यातका क्रममा लागूऔषधको जोखिम नियन्त्रण तथा कार्गाे कम्पनीका कर्मचारी एवं यस क्षत्रेसँग प्रत्यक्ष सरोकार राख्ने निकायहरुलाई लागूऔषध नियन्त्रणसम्बन्धी जानकारीमूलक अन्तर्क्रिया गरेको छ। 

काठमाण्डौको कालोपुलमा भएको कार्यक्रममा लागूऔषध नियन्त्रण ब्युरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, आयात–निर्यातसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि, कार्गो व्यवसायी, कार्गाे कम्पनीमा कार्यरत कर्मचारीसहित १७२ जनाको सहभागिता थियो। 

कार्यक्रममा संघका अध्यक्ष मनोज अधिकारीले निर्वाध रुपमा नेपाली वस्तू निर्यात गर्नका लागि अन्तर्क्रियाले मद्दत गर्ने तथा यस क्षेत्रलाई अवैध लागूऔषधको खतराबारे जागरुक बनाउनेमा विश्वस्त रहेको बताए। 

कार्यक्रममा नेफा कार्यकारिणी समिति सदस्य एवं नेफा इन्टरनेसनल एन्ड क्यापासिटी इन्हेन्समेन्ट कमिटीका सभापति मनिषमान श्रेष्ठले नेपालबाट तेस्रो मुलुक निर्यात गर्दा आवश्यक कार्य प्रक्रियाहरुलाई समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए। 

लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायबउपरीक्षक नारायण रन्जितकाले मालवस्तु आयात–निर्यातका क्रममा लागूऔषध तस्करीको तरिका तथा नियन्त्रणका उपाय, कानुनी प्रवधान, यसका जाेिखम, कार्गो व्यवसायीले अपनाउनुपर्ने सावधानी आदि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। 

लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले लागूऔषध जोसँग फेला पर्छ पहिले उसैलाई पक्राउ गरी अनुसन्धान सुरु हुने भएको हुँदा आयात–निर्यातमा अत्यन्त सावधानी अपनाउनुपर्ने बताए।