काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले बोनस सेयर र हकप्रद सेयर सम्बन्धी संस्थागत गतिविधिको सूचनाबाट धितोपत्र बजार मूल्यलाई प्रभाव पार्ने गरी सूचना सम्प्रेषण गरेको भन्दै कालिका लघुवित्त वित्तीय संस्थालाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

नेप्सेको सूचिकरण शाखाले आइतबार कम्पनीलाई लिखित स्पष्टीकरण सोध्दै पुनः २४ घण्टाका लागि सेयर कारोबार निलम्बन गरिदिएको हो ।

स्पष्टीकरणमा धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनियम २२ बमोजिमको जानकारी दिनुपर्नेमा गम्भीर नभएको र सूचनाहरु समेत फरक–फरक किसिमले पठाएको भन्दै पुनः २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

‘यो विषयमा कम्पनीको के भनाई छ ?साथै कम्पनी लगायत पदाधिकारीलाई विद्यमान नियमअनुसार कारबाही किन नगर्ने ?पत्र प्राप्त भएको २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्नुहोला ।’–पत्रमा भनिएको छ ।

यसअघि नेप्सेले पुस १९ गते कालिकालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । त्यसबेला हकप्रदको सूचना सम्प्रेषणमा संचालक समितिको बैठक भएको मिति नराखिएको र १८ गते भएको निर्णय १९ पुसमा मात्र जानकारी गराइएको भन्दै कम्पनीका संचालक र अधिकारीहरुलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधिएको थियो ।

‘संचालक समितिको निर्णयको विषयमा जानकारी गराउँदा बैठक बसेको समय उल्लेख नगरेका कारण अस्ती २४ घण्टे स्पष्टीकरण सोधेका थियौं ।’

नेप्सेस्थित सूचिकरण शाखाका एक अधिकारीले भने–‘त्यो स्पष्टीकरणको जवाफ पठाउने क्रममा कम्पनीले आफूहरुबाट पहिला गलत सूचना सम्प्रेषण भएको र त्यसलाई पछि सच्याइएको भन्ने कुरा आयो । यसकारण गलत सूचना सम्प्रेषणको बिषयमा पुनः हामीले सो कम्पनीको सेयर कारोबार निलम्बनमा राखी २४ घण्टे स्पष्टीकरण सोधेका हौ ।’