फलेवास (पर्वत) । पर्वत, म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण करिडोर आयोजनाको काम सुरु भएको छ ।

आयोजनाको २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्डको काम शनिबारदेखि सुरु भएको हो । आयोजनाको पर्वतको खुर्कोटस्थित २२०/१३२/३३ केभी सवस्टेसनको निर्माण कार्य औपचारिक रुपमा सुरु भएको आयोजनाले जनाएको छ ।  पर्वतको कुश्मा नगरपालिका–४ खुर्कोटमा स्थापना हुने सवस्टेसनको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले शिलान्यास गरे ।  आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्ड ३९ किलोमिटर  लामो हुनेछ ।  विद्युत् प्रसारण लाइनका साथै सवस्टेसन निर्माणका लागि दुई अर्ब ६० करोड खर्च हुने आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए। 

    एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्रसारण करिडोर आयोजनाको खुर्कोट–कुस्माखण्डको काम २८ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको छ । तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी निर्माण कार्यको थालनी भएको प्रमुख घोषले बताए । आयोजनाको खुर्कोट–दाना प्रसारण लाइन तथा खुर्कोट र दाना सवस्टेसनको कामको ठेक्का भारतीय कम्पनी  टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ । आयोजना  र ठेकेदार कम्पनीबीच मे ३० २०१६ मा सम्झौता भएको थियो । विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछन् । खुर्कोटदेखि दानासम्म ११० वटा टावर रहने छन् ।

म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका १४ मेगावाट क्षमताको थापाखोला, चार  मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेगावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् । सवस्टेसन निर्माणका लागि दानामा सय र खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण भएको छ भने नवलपरासीमा पनि सवस्टेसनका लागि जग्गा अधिग्रहण सकिएको आयोजना प्रमुख  घोषले बताए। खुर्कोटदेखि पर्वत, स्याङ्जा, पाल्पा र रुपन्देहीसम्मको प्रसारणलाइनका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको उनले बताए।कालीगण्डकी प्रसारण करिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।