काठमाण्डौ । सेयर बजारमा भित्रिइरहेको कालोधनको बिषयमा नियामक तथा सरोकारवालाहरुले छानबिन थालेपछि ठूला लगानीकर्ताको सक्रियता घट्दा ओरालो लागिरहेको पूँजीबजार मंगलबार राताम्य भयो  । उत्पादनमूलक बाहेक नेप्सेका सबै परिसूचकमा रातो पोतिएपछि बजार १८.९४ अंकले करेक्सन हुँदै १८२६.४७ अंकमा झरेको छ । 

मंगलबार सबैभन्दा धेरै बिमा समूहको सूचक १४६.२८ अंकले ओरालो लाग्यो । होटल समूह ३७.६७ अंकले तल झर्यो भने वाणिज्य बैंक, विकास बैंक र बित्त समूह क्रमशः १८.३, २३.९८ र ३.९२ अंकले घट्यो । 

जलविद्युत समूह २९.०८ अंकले घट्दा अन्य समूहमा ०.८६ अंकको गिरावट देखियो । सबै समूहमा रातो पोतिए पनि उत्पादनमूलक समूह भने ३४.०३ अंकले उक्लियो । 

मंगलबार ४.०७ अंकले सेन्सेटिभ इण्डेक्स घट्यो भने फ्लोट इण्डेक्स पनि १.५५ अंकले तल झर्यो । 

सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि कम भएको छ । १ सय ३९ कम्पनीका ३२ लाख ९८ हजार कित्ता सेयर १ अर्ब ४२ करोड ३२ लाखमा किनबेच भयो । 

सेयर बजारमा भित्रिइरहेको कालोधनको बिषयमा नियामक तथा सरोकारवालाहरुले छानबिन थालेपछि ठूला लगानीकर्ताको सक्रियता घट्दा ओरालो लागिरहेको पूँजीबजार मंगलबार राताम्य भयो  ।

मंगलबार एकैदिन प्राइम कमर्सियल बैंकको १९ करोड ७४ लाखको सेयर किनबेच भयो । सिद्धार्थ बैंकले १० करोड बढीको कारोबार गर्दा नेपाल बैंक लिमीटेडले पनि ८ करोड २४ लाखको कारोबार गरी धेरै कारोबार गर्नेको सूचिमा तेश्रो स्थानमा उक्लिन सफल भयो । नेपाल बंगलादेश बैंकले ७ करोड ४१ लाख, कृषि विकास बैंकले ५ करोड८४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ करोड ४६ लाख, एभरेष्ट बैंकले ३ करोड३३ लाख, एनएमबी बैंकले ३ करोड २६ लाखको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ९ स्थानमा वाणिज्य बैंक हाबी भए भने एक स्थानमा जलविद्युत समूहको प्रतिनिधित्व गर्दै अरुण भ्याली हाइडोपावर कम्पनी उक्लियो । 

मंगलबार ललितपुर फाइनान्सका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बोटलर्स नेपाल(तराई) लिमीटेडको सेयर मूल्य करिब ७ प्रतिशतले बढ्यो भने महिला सहयात्रा माइक्रो फाइनान्स बित्तीय संस्था, लक्ष्मी भ्यालू फण्ड १ र साझा विकास बैंकका लगानीकर्ता पनि मालामाल भए । 

मंगलबार सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य साढे ६ प्रतिशतले घट्यो । यसैगरी, लुम्बिनी फाइनान्स, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक, एनआइडीसी क्यापिटल मार्केट्स, एस डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतको हाराहारीमा गुमाउनुपर्यो ।