काठमाण्डौ । सेयर बजारमा भित्रिएको कालोधनमाथि नेपाल धितोपत्र बोर्डले छानबिन गर्ने बाटो बन्द गरेपछि रुष्ट बनेका सरकारका सम्बद्ध अन्य निकायले आफ्नो सक्रियता बढाएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । 

साताको पहिलो कारोबार दिन आइतबार पूँजीबजारमा फेरि पहिरो गएको छ । २.३१ प्रतिशतले बजार घट्दै नेप्से परिसूचक १७३३.९३ अंकमा झरेको हो । एकैदिन ४०.९४ अंकले नेप्से घटेको छ भने कारोबार रकम पनि घटेको छ । साताको पहिलो कारोबार दिन नै बजार बढ्ने आशामा रहेका साना र सर्वसाधारण लगानीकर्तालाई झट्का लागेको हो । 

आइतबार बजारमा सूचिकृत दुई समूहको सूचक तेहेरो अंकले र बाँकी ५ समूहको सूचकमा दोहोरो अंकको पहिरो गयो । 

सबैभन्दा धेरै बिमा समूह २३३.२२ अंकले घट्यो । होटल समूह १०७.१५ अंकले तल झर्यो भने वाणिज्य बैंकमा पनि ३६.७२ अंकको पहिरो गयो । विकास बैंक समूह ४३.५ अंकले घट्दा बित्त समूहमा १७.२८ अंकको गिरावट देखियो । जलविद्युत र अन्य समूह क्रमशः ६४.३६ र २०.५३ अंकले घटे । 

'क'वर्गका कम्पनीहरुको कारोबार खस्किएका कारण सेन्सेटिभ इण्डेक्स ८.४४ अंकले घट्यो । फ्लोट इण्डेक्समा पनि २.५७ अंकको गिरावट देखियो । 

आइतबार १ सय ४० कम्पनीको कुल २१ लाख ८१ हजार २ सय ८९ कित्ता सेयर १ अर्ब १४ करोड २२ लाख रुपैयाँमा किनबेच भयो । 

धेरै कारोबार गर्नेहरु
आइतबार धेरै सेयर कारोबार गर्ने कम्पनीको सूचिमा वाणिज्य बैंककै बोलवाला रह्यो । नेपाल बंगलादेश बैंकले सबैभन्दा बढी ७ करोड ३९ लाखको सेयर कारोबार गर्यो । एभरेष्ट बैंक लिमीटेडले ४ करोड ४३ लाख, सिद्धार्थ बैंकले ४ करोड ३९ लाख, अरुण भ्याली हाइडोपावर कम्पनीले ४ करोड ३७ लाख, नेपाल बैंक लिमीटेडले ४ करोड, टुरिजम डेभलपमेन्ट बैंकले ३ करोड ६२ लाखको सेयर कारोबार गरे । यसैगरी, एनएमबी बैंकले ३ करोड ५० लाख, ग्लोबल आइएमई बैंकले ३ करोड १७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ करोड र हिमालय बैंकले २ करोड ८७ लाखको कारोबार गरे । यो हिसाबले धेरै कारोबार गर्ने कम्पनीको सूचिमा ८ स्थान वाणिज्य बैंक समूहले कब्जा गर्यो भने विकास बैंक र जलविद्युत कम्पनी १ १ स्थानमा सीमित बन्न पुगे । 

धेरै कमाउने र गुमाउनेहरु
आइतबार स्वरोजगार लघुवित्त विकास बैंक र राष्टिय विमा कम्पनी लिमीटेडका लगानीकर्ता मालामाल भए । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यसैगरी, सिद्धार्थ डेभलपमेन्ट बैंक र हाम्रो विकास बैंकका लगानीकर्ताले पनि १० प्रतिशतकै हाराहारीमा सम्पत्ति बढाए । आइतबार धेरै कमाउने कम्पनीको सूचिमा विकास बैंक र लघुवित्त कम्पनीहरुकै बोलवाला रह्यो । 

आइतबार सबैभन्दा धेरै हामा मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले क्षति व्यहोर्नुपर्यो । यो कम्पनीको सेयर मूल्यमा ९.८० प्रतिशतको पहिरो गयो । यसैगरी, रिलायन्स लोटल फाइनान्सका लगानीकर्ता पनि धेरै गुमाउनेको सूचिमा दोश्रो स्थानमा  पुगे । यो कम्पनीको सेयर मूल्यमा ९.२३ प्रतिशतको गिरावट देखियो । मनास्लु विकास बैंकको सेयर मूल्यमा पनि ९ प्रतिशत बढीको गिरावट देखियो ।