– अर्जुन तिमिल्सिना
काठमाण्डौ । वर्षौंदेखि सेयर बजारमा ब्रोकर कम्पनीमार्फत मार्जिन कारोबारको चर्चा चलिरहेको छ। तर, हालसम्म सबै ब्रोकर कम्पनीमा मार्जिक कारोबारको व्यवस्था कार्यान्वयनमा आउन सकेको भने देखिँदैन।
केही रकम ब्रोकरलाई दिएर बाँकी रकम ब्रोकरबाट ऋण लिएर सेयर खरिद गर्ने कार्यलाई मार्जिन कारोबार भनिन्छ। उदाहरणका लागि कुनै लगानीकर्ताले रु. १ लाख रुपैयाँको सेयर खरिद गर्यो। त्यसमा ४० प्रतिशत अथवा ४० हजार ब्रोकरलाई तिरेर बाँकी ६० हजारको निश्चित ब्याज तिर्ने सर्तमा ब्रोकरले ऋण उपलब्ध गराउँछ भने त्यसलाई मार्जिक कारोबार भनिन्छ। त्यस्तो कारोबारमा ब्रोकरले ग्राहकअनुसार ऋण उपलब्ध गराउन सक्छ।
सेयर धितो कर्जा भनेको हाल चल्दै आएको बैंकहरुमार्फत लगानीकर्ताले सेयर खरिद गरेपछि रोक्का राखेर नगदै लिने व्यवस्था हो। तर, मार्जिन कारोबारमा भने नगद लिने व्यवस्था हुँदैन। सेयर धितो कर्जामा लिएको पैसा लगानीकर्ताले अन्यत्र पनि लगानी गर्न सक्छ। मार्जिन कारोबारमा खरिद गरिएको सेयर बढ्दै गएमा लगानीकर्तालाई पनि फाइदा हुन्छ भने ब्रोकर पनि सुरक्षित हुन गर्छन्। तर, बजार घटेमा लगानीकर्तालाई घाटा र ब्रोकरको ऋण डुब्न सक्ने पनि जोखिम हुन्छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गएको असार १५ गते ब्रोकर कम्पनीका सञ्चालकहरुसँग मार्जिन कारोबारको सुझाव पनि मागेको थियो। स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले त्यतिबेला राष्ट्र बैंकलाई मुख्यगरी ४ वटा व्यवस्था नियवमालीमार्फत नै ल्याउनुपर्ने सुझाव दिइएको बताए।
अध्यक्ष सापकोटाले मुख्यगरी मार्जिन कारोबारको ऋण रिकभरीको प्रस्ट व्यवस्था हुनुपर्ने सुझाव दिएको बताए। ‘दोस्रो भनेको सिस्टमले नै लगानीकर्ताले अर्डर हाल्दा मार्जिन कारोबारको हो वा म्यानुअल हो भन्ने छुट्याउनुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका थियौँ’, उनले भने, ‘तेस्रो भनेको मार्जिन कारोबारमा स्रोतको पहिचान हुनुपर्ने सुझाव दिएका थियौँ। त्यस्तो स्रोत ब्रोकरको इक्विटीबाट मात्रै हुनुहुँदैन भन्ने हो। ब्रोकर इक्विटीबाट मात्रै भएमा त्यो सीमित हुन्छ।’
अर्बौं रुपैयाँको कारोबार हुने बजारमा वैकल्पिक स्रोतको पनि व्यवस्था हुनुपर्ने सापकोटाको भनाइ छ। ‘अहिले ६० करोड पुँजी हुने ब्रोकरलाई मात्रै मार्जिन कारोबारको व्यवस्था गरेर क्यापिटलको क्याप छ’, उनले भने, ‘तर, सुरुआती चरण भएका कारण २० करोड पुँजी हुने ब्रोकरले पनि मार्जिन कारोबार गर्न सक्ने व्यवस्था आवश्यक रहेको छ।’
ब्रोकरहरुका अनुसार स्पष्ट नीति, स्रोतको पहिचान, सिस्टम र लोन रिकभरीको व्यवस्था भएमा मार्जिन कारोबार हुन सक्छ। तर, हाल ब्रोकरहरुबाट प्रवाह हुने कर्जाको पहिचान, प्रस्ट नीति र सिस्टमको अभावले मार्जिन कारोबारको विषय वर्षौंदेखि अलपत्र रहेको ब्रोकरहरु बताउँछन्।
हालको व्यवस्थाअनुसार पुँजीका आधारमा २१ वटा ब्रोकरले मात्रै मार्जिन कारोबार गर्न सक्ने देखिन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19