काठमाण्डौ । बैंक तथा बित्तीय संस्था र सूचिकृत कम्पनीहरुले एकपछि अर्को गर्दै आकर्षक लाभांश घोषणा गरिरहेका छन् । राजनीतिक वातावरण समेत यो बेला सन्तोषजनक नै छ । बजारमा तरलता अधिक भएको भन्दै राष्टबैंकले १ अर्ब रुपैयाँ खिच्नलाई रिभर्स रिपो जारी गर्दैछ । बैकिंग सिस्टममा समेत लगानीयोग्य रकमको अभाव छैन ।
एकातिर बजारमा लाभांशको बहार आएको छ भने अर्कोतर्फ बैंक तथा बित्तीय संस्थाहरुले सेयर धितोकर्जा निकै सहज र सरल बनाइएको घोषणा गरिरहेका छन् । सेयरको अधिक आपूर्ति बाहेक सबै कारण तथा अवस्था सकारात्मक रहे पनि साताको ५ कारोबार दिन कुनै दिन बाहेक अधिकांश दिन घटिरहेको छ । कुनै दिन त दोहोरो अंकले घट्दो बजारमा कारोबार रकम समेत घट्न थालेपछि लगानीकर्ता अत्तालिएका छन् । आखिर किन घट्दैछ बजार ? सबै कुरा सकारात्मक हुँदा हुँदै के कारणले बजारमा कालो बादल मडारिरहेको छ ? केही विज्ञहरुसँग गरिएको कुराकानीका आधारमा बजार घट्ने केही कारण यहाँ बुँदागत रुपमा प्रस्तुुत गरिएको छ :
- शेयर लगानीलाई व्यापार बनाउने उद्देश्यविहीन प्रयास
- नयाँ लगानीकर्ता पहिलोपटक बढी मूल्य भएको शेयरमा झुम्मिनु र अलिकति घटनासाथ आत्तिनु
- केन्द्रीय बैंकको नीति अनुरुप पूँजी वृद्धि समयावधि समाप्त भएको र अधिकाँशले हकप्रद जारी गर्दैनन् भन्ने र मेरो कित्ता बढ्दैन भन्ने सोच्नु (हकप्रद जारी हुने क्रममा रहेकाहरुको भाउ करिब स्थिर देखिन्छ, जस्तो ओम, सांग्रिला, ग्रीन, अपि, एनसिसि आदि)
- पूँजी वृद्धिको अन्तिम सीमा यही हो, अबदेखि बोनस पनि जारी हुन्न, नगद मात्र लाभांश पाइन्छ, नगद के काम ? भन्ने गलत मनोविज्ञान
- शेयर र शेयरबजारलाई दिगभ्रमित पार्ने समचारको सम्प्रेषण
- क्रेडिट समस्यालाई तरलता समस्या भनिनु, जब कि यी दुई बीचमा आकाश जमिनको फरक छ भन्ने बुुझ्न नसक्नुु
- बैंकहरुसँग दीर्घकालीन बचत योजना नहुनु
- स्टक एक्सचेञ्ज र दलालप्रतिको नकारात्मक धारणा
- ठूला चाडपर्वको प्रभाव
- वस्तुबजार जस्तो घट्ने र बढ्ने मात्र ठान्नु, जब कि यसमा वार्षिक लाभको अन्तनिर्हित पक्ष हुन्छ्र
- लगानी र प्रतिफलको पक्ष अन्धकारमा पर्नु
- बढी महत्वाकांक्षा पालेर क्षमता भन्दा बढी लाभांश खोज्नु
- बुक क्लोज जस्ता शेयरबजार सम्बन्धी प्राविधिक शब्दावलीलाई नबुझी किन्नु (भोलिपल्ट मूल्य समायोजन हुँदा यसलाई नबुझ्दा भाउ घटेको भन्दै आत्तिनु र बेच्नु)
- ब्रोकरमार्फत मार्जिन लेण्डिङ कार्य सुरु नगर्नु
- बैंकलाई ब्रोकर लाइसेन्स दिने कार्य अगाडि नबढ्नुु
- अनलाइन कारोबार संचालन गर्ने कुराको सुनिश्चितता नहुनु
- गैरआवासीय नेपालीहरुलाई सेयरबजारमा सिधैं लगानी गर्नसक्ने व्यवस्था नहुनु
- नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारीको पद लामो समयसम्म पनि पूर्ति हुन नसक्नू
- नेपाल धितोपत्र बोर्डले लगानीकर्तासँग समन्वय र छलफल गरी बजार सुधारका कार्यक्रम संचालन गर्नुको साटो उल्टै लगानीकर्ताहरुलाई तर्साउने गरी कहिले स्थायी लेखानम्बरको बिषयमा र कहिले बोर्डसँग असम्बन्धित बिषयमा मिडियावाजी गरी अफवाह फैलाउनुु
- नेपाल राष्ट्रबैंकले सेयरधितो कर्जामा सीमा लगाउनुु
- बुक क्लोजपछि समायोजित मूल्यमा बोनस सेयरलाई धितोमा गणना गर्न नदिनूू
- नियामक निकायहरुले नियमित गर्ने भनिएका कुराहरु कार्यान्वयन नगर्नु
- नागरिक लगानीकोषलाई बजार निर्माताको रुपमा भूमिका निर्वाह गर्न नेपाल सरकारले गरेको आग्रह कार्यान्वयनमा नल्याइनुु
- सेयरधितो कर्जाको गणना १८० दिनको औसत दरको ७० प्रतिशत सीमालाई संकुचन गरिनु
- लगानीकर्तामा आपूर्ति बढी भयो भन्ने मनोभाव
- बैंकहरूको ८ अर्बपछि केही हुँदैन कि भन्ने नकारात्मक सोच
- पूँजी बढेसँगै प्रतिशेयर आयमा गिरावट,
- संभवत केही म्युचुअल फण्डद्वारा नगद लाभांशका लागि शेयर बिक्री
- केहीले सस्तोमा किन्न गरिरहेको प्रयास
- आउँदो दशैंको लागि विगत ८ महिनामा बढेको मूूल्यको मुनाफा बुकिङ ।
- गत वर्ष पनि यही समयमा घट्न थालेको थियो, त्यसैले केही सिजनल ईफेक्ट पनि