– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपालको सेयर बजारमा डिम्याट खोल्ने लगानीकर्ताको संख्या ५२ लाख ६० हजार पुगेको छ। 

सीडीएससीका अनुसार बढ्दो बजारका कारण गत दुई वर्षको समय अवधिमा नै डिम्याट खोल्नेको संख्या ह्वात्तै बढेर गएको हो। पछिल्लो समय डिम्याट खाता हुने लगानीकर्ताको संख्या बढ्दो क्रममा भए पनि आईपीओमा आवेदन दिनेहरुको संख्या भने घट्दो क्रममा रहेको छ।

गत माघ १८ मा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको जाल्पा सामुदायिक लघुवित्तमा अहिलेसम्मै उच्च आवेदन परेको थियो। उक्त आईपीओमा २५ लाख ९९ हजार बढीले आवेदन दिएका थिए।

त्यस्तै आईपीओ निष्कासन गर्दा सर्वाधिक आवेदन उपकार लघुवित्तमा २४ लाख ३१ हजार, इमर्जिङ नेपालमा २४ लाख १५ हजार, मध्यभोटेकोशीमा २३ लाख ९३ हजार आवेदकले आवेदन दिएका थिए। तर, पछिल्लो समय आईपीओमा आवेदन दिने आवेदकको संख्या भने घट्दो क्रममा रहेको छ।

गत बुधबारबाट हिजो आइतबारसम्म आईपीओका लागि आवेदन खुल्ला गरेको राप्ती हाइड्रोमा १३ लाख ८ हजार बढीले आवेदन दिएका छन्। अर्थात् अहिलेसम्म सर्वाधिक आईपीओमा आवेदन परेको जाल्पा लघुवित्तको तुलनामा राप्ती हाइड्रोमा आवेदन दिनेको संख्या झन्डै ५० प्रतिशतले घटेको हो।

त्यस्तै गत असार आईपीओ निष्कासन गरेको आदर्श लघुवित्तमा १८ लाख ३ हजार, हिमालयन हाइड्रोपावरमा १६ लाख ३२ हजार, अपर सोलु हाइड्रोमा १५ लाख १८ हजार र अपर हेवाखोलामा १५ लाख ५३ हजार बढीले आवेदन दिएका थिए।

सीडीएससीबाट प्राप्त तथ्यांक हेर्दा विगतको तुलनामा आईपीओमा आवेदन दिने आवेदकको संख्या घट्दो क्रममा रहेको देखिन्छ। 

विगत २ वर्षदेखि आफ्नो र परिवारका अन्य सदस्यको नामबाट आईपीओमा आवेदन दिँदै आएका विजय गिरी अहिले आफ्नो मात्र खाताबाट आइपिओमा आवेदन दिने गरेको बताउँछन्। ‘आईपीओमा दर्जनौँपटक सबै परिवारको नामबाट आवेदन दिँदा पनि नपरेपछि अहिले आफ्नोबाट मात्र भर्छु’, गिरी भन्छन्, ‘अहिले आइपीओबाट कमाउनेभन्दा पनि समयका साथै आस्बा शुल्कमा पैसा खर्च मात्र हुन्छ। त्यसैले अहिले आईपीओमा आवेदन दिँदा पनि कम्पनी छनौट गरेरमात्र सीमित कम्पनीको आईपीओ आवेदन दिन थालेको छु।’  

ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल आईपीओमा आवेदन दिँदा कम संख्यालाई मात्र पर्ने र अहिले मार्केटले पनि कन्फिडेन्स लुज गरेका कारण आईपीओमा आवेदन दिने आवेदकको संख्या घट्दो क्रममा रहेको बताउँछन्। ‘अहिले कम्पनीहरुको दोस्रो बजारमा कारोबार हुँदा विगतको तुलनामा लगानीकर्ताले पाउने रिटर्न पनि घटेर गएको छ’, ढकाल भन्छन्, ‘दोस्रो बजारमा नै कम मूल्यमा कारोबार हुने भएकाले पनि अहिले आवेदन दिने लगानीकर्ताको संख्या घट्दो क्रममा रहेको देखिन्छ।’

आईपीओमा आवेदन दिने लगानीकर्ताको संख्या घट्नुमा आस्बा शुल्कको भूमिका कतिको छ ? भन्ने बिजशालाकर्मीको जिज्ञासामा ढकाल भन्छन्, ‘आस्बा शुल्क नै मुख्य कारक भएको भए शुल्क लिनेहरुको कम आवेदकहरुले आवेदन दिने र नलिनेहरुको बढी आवेदकहरुले आवेदन दिनुपर्ने हो। तर, त्यस्तो देखिँदैन। त्यसैले मेरो बुझाइमा आस्बा शुल्कले मात्र आईपीओमा आवेदन दिने आवेदकको संख्या घटेको भने होइन।’