– प्रकाश न्यौपाने
काठमाण्डौ । नेपालको सेयर बजार राजनीतिक र आर्थिक गतिविधिले बेला–बेलामा प्रभावित हुने गरेको छ। टाठाबाटा लगानीकर्ताले पनि बजारलाई प्रभावित पार्ने गरेका छन्। यिनै कुराले नेपालको सेयर बजार अझै परिपक्व हुन सकेको प्रस्ट हुन्छ।
गत वर्ष भदौ ३ गते हालसम्मकै उच्च विन्दु चुमेको बजार त्यसपछि नेपाल राष्ट्र बैंकले ल्याएको नीतिले लगातार ओरालो लागेको थियो। न्यूनतम १८०६ को विन्दुसम्म झरेको बजारमा लामो समय सामान्य उतारचढाव देखिएको थियो। कारोबार पनि निकै सुस्ताएको थियो। अहिले नयाँ सरकार गठनसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि फेरि उकालो लाग्न थालेको बजारमा फेरि केही करेक्सन आएको छ।
यसबाट नेपालको सेयर बजार राजनीतिक र आर्थिक रुपमा प्रभावित हुने गरेको प्रस्ट हुन्छ।
सेयर बजारमा पछिल्लो समय ठूलो संख्यामा लगानीकर्ता भित्रिएका छन्। तर, अधिकांशमा सेयर सचेतना भने कमै रहेको देखिन्छ। जसका कारण अधिकांश लगानीकर्ता बजारको चालभन्दा पनि अरुले भनेका भरमा र अन्धाधुन्दा रुपमा लगानी गर्ने गरेको देखिन्छ।
सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। तर, बजार रणनीति बनाएर लगानी गर्ने हो भने यही बजारबाट मनग्य कमाउन पनि सकिन्छ।
लय बुझ्न नसक्दा अधिकांश लगानीकर्ता बढेपछि मात्र बजार प्रवेश गर्ने गरेको देखिन्छ।
बजार जानकार केशव कोइराला अधिकांश लगानीकर्ता बजार बढेर करेक्सन आउने बेलामा मात्र हौसिएर लगानी गर्ने र पछि पछुताउने गरेको बताउँछन्। ‘बियरिस बजारमा पनि बीच–बीचमा स–साना बुल आउँछन्’, उनले भने, ‘यस्तो बढाइमा हौसिएर ठूलो रकम लगानी गर्न हुँदैन, डुब्ने जोखिम बढी हुन्छ।’
बजारलाई असर पार्ने राम्रा र नराम्रा पक्षको अध्ययन गरेर लगानी गर्नेहरुले राम्रै नाफा कमाउन सक्ने कोइरालाको भनाइ छ। ‘पुराना र बजारको राम्रो अध्ययन गरेका लगानीकर्ताले बुझेर र रणनीति बनाएर लगानी गर्छन्’, उनले भने, ‘तर, अधिकांश नयाँ लगानीकर्ताले बजारलाई बढेका बेला खरिदका लागिमात्र हेर्ने गर्छन्। बजार धेरै बढेर झर्ने बेलामा अधिकांश लगानीकर्तालाई मनोवैज्ञानिक असर पर्छ र अब त नकिने ढिला हुन्छ कि भन्ने महसुस गराउँछ। अनि खरिदका लागि तछाडमछाड सुरु हुन्छ।’
केही बाठा लगानीकर्ताले ठूलो परिमाण सेयर बिक्रीमा ल्याई नाफा बुक गर्दा बजारमा करेक्सन आउने गरेको कोइराला बताउँँछ। ‘त्यही बेला बजार घटाउन नकारात्मक हल्ला पनि फैलाइन्छ’, उनले भने, ‘अनि फेरि आत्तिएर नयाँ लगानीकर्ताले सेयर बिक्री गर्छन्।’
अर्का सक्रिय लगानीकर्ता मनोज आचार्य पनि अधिकांश लगानीकर्ता बिना अध्ययन अरुले कमाएको देखेर आफूसँग पैसा नभए पनि ऋण काढेर लगानी गर्ने गरेको बताउँछन्। ‘यसरी लगानी गर्ने लगानीकर्ता कम समयमा धेरै नाफा कमाउने आशाले महँगो ब्याजमा छोटो समयका लागि रकमको जोहो गर्ने र बजार बढेपछि मात्र लगानी गर्ने गर्छन्’, उनले भने, ‘पहिला नै लगानी गरेका अनुभवी लगानीकर्ताले नाफा बुक गर्ने बेलामा नयाँ लगानीकर्ता बजार पस्ने गरेका छन्। अनि उनीहरु बुल ट्रयापमा पर्छन्।’
बिना अध्ययन बजार पसेका लगानीकर्ताले ‘स्टप लस’को हतियार प्रयोग गर्न नजान्ने पनि आचार्य बताउँछन्। ‘अनि बजार धेरै घटेपछि मात्र आत्तिएर सेयर बिक्री गर्दा लगानीमा ठूलो क्षति हुन्छ’, उनले भने, ‘बजार बढ्दै जाँदा नयाँ लगानीकर्ताको मनमस्तिष्कमा बजारमा जति धेरै पैसा खन्यायो, त्यति नै धेरै नाफा कमाउन सकिने भन्ने कुराले प्रभाव पार्छ। जसका कारण नयाँ लगानीकर्ता जहिले पनि बुल ट्रयापमा पर्ने गर्छन्।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19