काठमाण्डौ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ।

लगानीकर्ताको आकर्षणसँगै यो कम्पनीको सेयरभाउ पनि १ महिनायता साढे २०० रुपैयाँको हाराहारीमा बढिसकेको छ। गत अगस्ट ९ मा ७७० रुपैयाँ प्रतिकित्ता रहेको यो कम्पनीको सेयरभाउ बढेर सेप्टेम्बर ८ सम्म १ हजार ८ रुपैयाँ पुगिसकेको छ। 

यो कम्पनीको सेयरभाउ उकालो लाग्नु र लगानीकर्ताको आकर्षण पर्नु कम्पनीले गत आर्थिक वर्षका लागि उत्कृष्ट प्रतिफल दिन सक्ने र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उत्कृष्ट वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने सम्भावना रहनु नै रहेको बताइएको छ। स्रोतका अनुसार रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरमा रहेको १ लाख कित्ता बढी सेयर बेचिसकेको छ। रैराङ हाइड्रोपावरको मुख्य प्रमोटरका रुपमा रिडी हाइड्रोपावर रहेको छ। 

रिडीले प्रतिकित्ता ६०० रुपैयाँमाथि रैराङको सेयर बचेको स्रोतको दाबी छ। यो हिसाबले कम्पनीले रैराङको सेयरबाट ७५ करोड रुपैयाँ बढी आम्दानी गरेको छ। यो हिसाबले रिडी हाइड्रोपावरको प्रतिसेयर आम्दानी (ईपीएस) आकर्षक ढंगले बढ्न सक्ने अनुमान लगाउन सकिन्छ। 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ७ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। विद्युत बिक्रीको आम्दानीबाट ११ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको थियो। अन्य स्रोतबाट हुने आम्दानी ६ करोड ४५ लाख रुपैयाँ रहेको छ।

चौथो त्रैमाससम्म कम्पनीको ईपीएस १२.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.६२ रुपैयाँ रहेको छ। पीई रेसियो ४६.२८ गुणा रहेको छ। 

रैराङको सेयर बेचेर आएको पैसा कम्पनीले आफ्नो आम्दानीमा देखाउने निश्चितछ। यसले कम्पनीले नाफामा उछाल आउनुका साथै लगानीकर्ताका लागि आकर्षक लाभांश वितरण गर्नसक्ने सम्भावना रहेको देखिन्छ।