– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । गत जनवरी महिनामा २२२२ माथि रहेको सेयर बजार अहिले फेरि १८६० को आसपासमा कारोबार भइरहेको छ। बजार खासै बढ्न सकेको अवस्था छैन। 

दैनिक बजार घट्दै जाँदा कारोबार पनि घटेको छ। आज दोस्रो बजारमा ६ महिनायताकै कम कारोबार भएको छ। 

ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरु पनि हायलकायल नै देखिन्छन्। उनीहरु अब त बजार बढ्नैपर्ने बताउँछन्। तर, बजार दैनिकजसो घटिरहेको छ। 

ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले ठट्यौली पारमा भने, ‘कृष्णभीरको पहिरो जसरी दैनिकजसो बजार खसिरहेको छ, अब त डाँडै खस्ला भन्ने डर भयो।’

काठमाण्डौका जुनसुकै ब्रोकर हाउसमा पुग्दा लगानीकर्तामा निराशा देखिन्थ्यो। सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९)मा भेटिएका एक लगानीकर्ताले भने, ‘सेयर बजारमात्रै होइन, अन्य व्यापार–व्यवसाय पनि ठप्पै छ। मैले चाइनाको व्यापार गर्थें। समान ल्याएर न्युरोडमा बेच्ने गर्थें तर अहिले त सामान नै बिक्दैन।’

‘न्युरोडतिरको व्यापार पनि ठप्पै छ’, ती लगानीकर्ताले थपे, ‘मेरो २० वर्षको चाइना व्यापारको अनुभवमा यस्तो मन्दी कहिलै देखिनँ। भएको जग्गा पनि बिक्दैन। सेयरमा हालेको पैसाको त के कुरा गर्नु ? लगानी आधाभन्दा  बढीले घटेको छ।’

नेपाल स्टक हाउस (ब्रोकर नं. १४)का सञ्चालक ईश्वरीप्रसाद रिमाल पनि बजार घटेर दिक्क लागेको बताउँछन्। ‘लगानीकर्ताले सेयर किनेका छन्। सबै पैसा उठेको छैन’, उनले भने, ‘बजार बढेर रोलिङ गर्न सक्ने अवस्था छैन। कोही त सम्पर्कमै छैनन्।’

बजार बढ्न थालेपछि सबै लगानीकर्ता फर्केर आउनेमा भने रिमाल ढुक्क छन्। ‘अहिले बजार बढ्न नसक्नुमा सरकारले समयमै पुँजीगत खर्च गर्न नसक्नु तथा ठेकेदारको भुक्तानी पनि समस्या रहनु नै हो’, उनले भने, ‘देशमा आन्तरिक रुपमा आर्थिक डेडलक भएको छ। उद्योगधन्दाको अवस्था पनि त्यस्तै छ।’

लगानीकर्ताले बैंकको लोन तिर्न सक्ने अवस्था भएमा थप लोन पाउने अवस्था सिर्जना हुने रिमालको भनाइ छ। ‘मुख्य रुपमा सरकारले ओभरड्राफ्ट लिएर खर्च गर्नुपर्छ’, उनले भने, ‘अनावश्यक रुपमा भएका खर्च पनि सरकारले कटौती गर्नुपर्छ।’

राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाको विषयमा भने अहिले नै धेरै आशा गरिहाल्ने अवस्था नरहेको रिमालको भनाइ छ।