– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । विगत २७ महिनादेखि सेयर बजार सुस्ताएको छ। २०७८ साल भदौ २ गते उच्च विन्दु चुमेपछि ओरालो लागेको बजार लयमा फर्किन सकेको छैन। 

उच्च विन्दु चुम्दा एकैदिन २२ अर्ब रुपैयाँसम्म कारोबार भएको बजारमा हिजोआज १ अर्ब रुपैयाँको कारोबार हुन पनि मुस्किल छ। सेयर बजार सुस्ताउँदा दोस्रो बजारमा मात्रै नभएर लगानीकर्ताको आकर्षण प्राथमिक बजारमा पनि घटेको देखिन्छ। प्राथमिक बजारमा कुनै समयमा २५ लाखसम्म पर्ने आवेदन हिजोआज ११–१२ लाखको आसपासमा सीमित हुन पुगेको छ। यस्तै अवस्था रहेमा अघिल्लो बियरिस बजारमा जस्तै यो पटक पनि आईपीओ नै नबिक्ने अवस्था नआउला भन्न सकिँदैन। 

अन्तर्राष्ट्रिय बजारको समेत अनुभव बटुलेका बजार जानकार मुक्ति अर्याल लगानीकर्ता नियामक निकायसँग डराएका कारण नै बजार घटेको बताउँछन्। बजारमा मनी सप्लाई र कर्जा प्रभाव बढ्न नसक्दा पैसाको सर्कुलेसन रोकिएको उनको भनाइ छ। ‘यसमा केही दोष लगानीकर्ताको पनि छ’, उनले भने, ‘किनकि लगानीकर्ताले पनि बजारमा दाऊ कुरेर बसेका छन्।’

बजार घटेको साढे २ वर्ष भइसकेको उल्लेख गर्दै अर्यालले अवस्था यस्तै रहे बजार अझै १ वर्ष साइडवेजमा चल्न सक्ने बताए। अगाडिको सम्भावना नदेख्दा सेयर बजारमा थप लगानी आउन नसकेको उनको तर्क छ। 

अर्थशास्त्री मुक्तिबहादुर खत्री धितोपत्र बोर्ड र अर्थ मन्त्रालयको पहलकदमी सकारात्मक नहुँदा बजार खसेको बताउँछन्। ‘विज्ञानको नियम के हो भने राकिएको कुनै पनि वस्तुमा गति प्रदान गर्न अतिरिक्त शक्ति आवश्यक हुन्छ’, खत्रीले भने, ‘अहिले पुँजीबजार रोकिएको साधनजस्तै भएको छ। अब यसमा अतिरिक्त बल आवश्यक छ। त्यसका लागि नियामक र सरकारले अतिरिक्त बल लगाउनुपर्छ।’

नियामकले पुँजीबजारलाई सौतेनी व्यवहार गरेको पनि खत्रीको आरोप छ। ‘बजारमा सप्लाई बढेको बढ्यै भयो तर माग बढ्ने र लगानीकर्तालाई विश्वासमा लिने काम हुन सकेन’, उनले भने, ‘सरकारले पुँजीगत खर्च बढाउनुपर्छ र केन्द्रीय बैंकले सकारात्मक माहौल बनाउनुपर्छ।’

काठमाण्डौको सरस्वती क्याम्पसका एमबीएम प्रमुख केपी पाण्डेय अहिले नेपालको मात्रै नभएर संसारकै अर्थतन्त्र जटिल अवस्थामा रहेको बताउँछन्। ‘यस्तो बेलामा संसारभर ब्याजदर बढ्ने गर्छ। ब्याज बढेपछि कर्जा प्रवाह घट्छ’, उनले भने, ‘यसले सेयर बजारमा शिथिलता ल्याउँछ।’

नेपालको अर्थतन्त्रमा सन् २०२४ बाट मात्रै सुधार हुन सक्ने पाण्डेयको आँकलन छ। ‘संसारभर आर्थिक अनिश्चितता बढ्दा नेपालमा पनि अनुदान र सहयोग पक्कै कमी हुन्छ’, उनले भने, ‘विश्वका ठूला अर्थतन्त्र भएका भारत, चीन, युरोप र अमेरिकामा पनि आर्थिक समस्या देखिएका छन्। विश्वको वित्तीय संकटको प्रभाव नेपालमा पनि पर्न सक्छ।’

सेयर बजार बढ्न भने कम्पनीको ग्रोथ नै हुनुपर्ने पाण्डेयले बताए। ‘यसमा जलविद्युत सेक्टरको योगदान हुन सक्छ’, उनले भने, ‘यद्यपि, सेयर बजारमा सुधार आउन भने सबैको पुँजीबजारमैत्री मानसिकता हुनुपर्छ।’