– प्रकाश न्यौपाने 

काठमाण्डौ । नेपालको सेयर बजारमा लामो समयपछि मंगलबार साढे ७ अर्ब बढीको कारोबार भएको छ। बजार पनि बढेर २२०० माथि पुगेको थियो। हिजो मंगलबार भने घटेर २१९० को विन्दुमा बन्द भएको छ। 

नयाँ सरकारले पुँजीबजारलाई प्राथमिकतामा राख्नु र अर्थमन्त्रीमा लगानीकर्ताले रुचाएका विष्णु पौडेल आउनुले बजार पछिल्लो समय मजबुत बन्दै गएको छ। बजार बढ्न थालेपछि लगानीकर्ताको मनोबल पनि बढ्न थालेको छ। बजारमा महौल बनिरहँदा लगानीकर्ताहरुको आकर्षण भने सस्ता सेयरभाउ र कम पुँजी भएका कम्पनीहरुमा देखिएको छ। विशेषगरी हाइड्रो, फाइनान्स र निर्जीवन बीमा कम्पनीमा लगानीकर्ता झुम्मिएका छन्। 

पुराना र पाका लगानीकर्ताले बलिया र लाभांश क्षमता भएका वाणिज्य बैंकहरुमा लगानी गर्न सल्लाह दिए पनि नयाँ लगानीकताहरुको आकर्षण भने अन्य सेक्टरहरुमा देखिएको छ। 

ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता शिशिर लामा बजारको बढाइ सुरुआतमात्रै भएको बताउँछन्। ‘अब बजार विस्तारै बढ्दै धेरै माथि जाने नै हो’, उनले भने, ‘बजारबाट पैसा कमाउनका लागि कम पुँजी भएका र भविष्यमा राम्रो प्रगति गर्नसक्ने थोरै भए पनि लाभांश र हकप्रदको सम्भावना भएका सस्ता सेयरभाउ भएका कम्पनीमा लगानी गर्दा बढी नाफा कमाउन सकिन्छ।’

आफ्नो अनुभव सुनाउँदै लामाले भने, ‘मैले मञ्जुश्री फाइनान्स १ हजार कित्ता सेयर ३७० रुपैयाँको दरमा किनेर १७५ प्रतिशत हकप्रद भरेर ४ वर्षको लाभांश खाँदा करिब ५ हजार कित्ता ११०० रुपैयाँको दरमा बिक्री गरेँ। करिब ४४ लाख रुपैयाँ फाइदा भयो।’

यसपालि पहिलेजस्तो १०० रुपैयाँभन्दा तल सेयर पाउने सम्भावना नहुँदा लगानीकर्ताहरु अहिलेकै मूल्यमा फाइनान्स र हाइड्रोमा झुम्मिएका लामा बताउँछन्। ‘देशमा विद्युतको ठूलो माग रहेको छ र हाइड्रोपावर कम्पनीहरुले उत्पादन बढाउँदै गएका छन्’, उनले भने, ‘जसका कारण देश विकासमा ठूलो टेवा पुग्नेछ। हाइड्रो कम्पनीले नाफा कमाएपछि भविष्यमा लगानीकर्तालाई पनि राम्रै फाइदा हुने हुनाले हकप्रद र लाभांश आउन लागेका कम्पनीमा लगानीकर्ता भुम्मिएका छन्।’

ब्रोकर हाउसमै भटिएका अर्का लगानीकर्ता प्रमोद लम्साल बजारको तल्लो विन्दुमा लगानी गरेर बसेका लगानीकर्ताले राम्रो नाफा कमाउन सफल भएको बताउँछन्। ‘बजार बढ्दा जुन कम्पनीको सेयरभाउ धेरै बढ्छ, घट्दा पनि त्यसरी नै घट्छ’, उनले भने, ‘त्यसैले नाफा बुक गर्न पनि जान्नुपर्छ।’

बजार तल्लो विन्दुमा भएको बेला धेरै घटेका तर वित्तीय अवस्था राम्रो भएका सस्ता कम्पनीमा लगानी गर्दा बजार बढेको बेला राम्रै नाफा बुक गर्न सकिने लम्साल बताउँछन्। ‘यही कारणले लगानीकर्ताहरुको आकर्षण सस्ता सेयरमा देखिएको हो।’

जान्ने र जोखिम मोल्नेले पैसा कमाउने सेक्टर भनेकै हाइड्रो नै रहेको लम्सालको भनाइ छ। ‘१८८१ को बियरिसमा ६५ रुपैयाँमा झरेको जोशी हाइड्रोपावरको सेयर किनेर ३२००को बुलमा ४०० मा बेचेर धेरै नाफा कमाएँ’, उनले भने, ‘जुन सेयरमा बढी जोखिम हुन्छ, त्यसमै बढी फाइदा पनि हुने भएकोले सोचविचार गरेर लगानी गर्दा सस्ता सेयरबाट पनि मनग्य कमाउन सकिन्छ।’