काठमाण्डौ । ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मार्फत लगानीकर्ताले ब्रोकरमा केवाईसी (कारोबार खाता) खोल्दा अन्योल सिर्जना भएको छ।

टीएमएसबाट कारोबार खाता खोल्न खोज्दा निकै झन्झट व्यहोर्नुपरेको सेयर लगानीकर्ता द्रोण भट्टराईले गुनासो पोखे। ‘टीएमएसबाट केवाईसी आवेदन गरेपश्चात रजिस्ट्रेसन नम्बर किन दिइँदैन ?’, अन्योलता प्रकट गर्दै भट्टराईले भने, ‘स्टक ब्रोकरले ढिलाइ गरेमा कहाँ के आधारमा उजुरी गर्ने ?’

टीएमएसमार्फत लगानीकर्ताहरुले घरमै बसेर ब्रोकर कम्पनीमा केवाईसी भर्न सहज होस् भन्ने उद्देश्य यो प्रणालीको विकास गरिएको छ। तर अनलाइनमार्फत केवाईसी भरेर पठाउँदा ब्रोकर कम्पनीहरुले अप्रुभ नगरिदिँदा सेयर कारोबार गर्नबाट वञ्चित हुनुपरेको लगानीकर्ताहरुको गुनासो छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को टीएमएसको फ्रन्टपेजमा नै राखिएको अनलाइन कारोबारका लागि नयाँ दर्तामा क्लिक गरी ५ स्टेपमा आवश्यक विवरण भरी सबमिट गर्नुपर्छ। लगानीकर्ताले अनलाइन रजिस्ट्रेसन फर्म भरेर सबमिट गरेपछि सम्बन्धित ब्रोकर कम्पनीको टीएमएसमा नोटिफिकेसन जान्छ। त्यसपछि भने सम्बन्धित ब्रोकरले आवश्यक कागजात र विवरण यकिन र रुजू गरी अप्रुभ गर्दछन्।

लगानीकर्ताहरुले टीएमएसमै उपलब्ध अनलाइन रजिस्ट्रेसन फर्मबाट केवाईसी आवेदन गर्दा स्टक ब्रोकरले नै आफ्नो ग्राहक बनाउने वा नबनाउने अन्तिम अधिकार रहेको हुन्छ। यदि सो ब्रोकरले ग्राहक बनाउन नचाहेमा अन्य ब्रोकर कम्पनीमा फर्म सबमिट गर्नुपर्छ। 

अनलाइनबाटै केवाईसी आवेदन आउन थालेपछि भने स्टक ब्रोकर कम्पनीहरुलाई अझ सहज भइरहेको बताइन्छ। केवाईसी अपडेट गर्नका लागि कर्मचारी खटाउनुपर्नेमा लगानीकर्ता स्वयंले अनलाइनबाट आएको आवेदनको नोटिफिकेसनलाई अप्रुभमात्र गरे पनि ग्राहक बनाउन सहज भइरहेको छ। 

उसो त यस्तै सिस्टम बनाउन ब्रोकर कम्पनीहरुले आफ्नो वेबसाइटमा अनलाइन रजिस्ट्रेसन फर्मको लिंक बनाउने तयारी चलिरहेकोमा नेप्सेले नै सहज बनाइदिएको हो।

कोरोनाभाइरसको संक्रमणलाई न्यूनीकरण गर्न र निषेधाज्ञामा पनि सहजै घरबाटै ब्रोकरमा केवाईसी खोली सहजतापूर्ण रुपमा सेयर खरिदबिक्री गर्ने प्रयोजनार्थमात्रै अनलाइन फर्म रजिस्ट्रेसनको सुरुआत गरेको नेप्सेको भनाइ छ।