काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीएसी) को सेयरमूल्यमा लगातार पोजेटिक सर्किट लाग्ने क्रमले आज बिहीबार पनि निरन्तरता पाएको छ।

आज कारोबार खुलेको आधा घन्टामै यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको छ। योसँगै आज यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५४४ रुपैयाँ बढेर ५ हजार ९८९ रुपैयाँ पुगेको छ। 

यो कम्पनीको सेयरमूल्यमा हिजो बुधबार र अस्ति मंगलबार पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको थियो।

सेयरमूल्यमा आइरहेको लगातारको उछालले यो कम्पनीका सेयरधनीहरु दैनिकजसो मालामाल बनिरहेका छन्। कम्पनी आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश पारित गर्न वार्षिक साधारणसभाको बुक क्लोज तोक्ने समय नजिकिएकोसँगै लगानीकर्ताहरु यो कम्पनीको सेयरमा झुम्मिएको विश्लेषकहरु बताउँछन्। 

अर्कोतर्फ कोरोना महामारीबीच पनि यो कम्पनीले चालु आर्थिक वर्षमा राम्रो व्यापार गरेको हुनाले उच्च लाभांश घोषणा हुन सक्ने भन्दै लगानीकर्ताहरुले पैसा खन्याइरहेको विश्लेषकहरुको दाबी छ। यिनै कारणले पनि यो कम्पनीको सेयरमूल्यमा दैनिकजसो उछाल आइरहेको उनीहरुको भनाइ छ।

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा यो कम्पनीको सेयर खरिदका लागि ५१८ कित्ता पोस्ट भएको छ। बिक्रीतर्फ भने एउटा पनि पोस्ट भएको छैन। यो हिसाबले यो कम्पनीको सेयर खरिदचाप बढी देखिन्छ।