– अर्जुन तिमिल्सिना
काठमाण्डौ । कोरोना महामारीकै कारण लामो समयदेखि बन्द रहेका ब्रोकर हाउसका डिस्प्ले खोल्न आमलगानीकर्ताहरु जोडतोडले माग गरिरहेका छन्। डिस्प्ले खोल्नकै लागि लगानीकर्ताका नेताहरुले पनि तीव्र रुपमा लबिङ सुरु गरेका छन्।
सबैतिर सामान्य भइसकेको अवस्थामा अब ब्रोकर हाउसका डिस्प्लेमात्रै बन्द गर्नुको कुनै औचित्य नरहेको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताए। ‘सबैले अनलाइन चलाउन जान्दैनन्’, उनले भने, ‘सबै ब्रोकर हाउसमा इन्टरनेटको राम्रो सुविधा पनि छैन।’
ब्रोकर हाउसमा डिस्प्लेमा बजारको गतिविधि हेर्न पाउने आमलगानीको अधिकारको कुरा रहेको रौनियार बताउँछन्। ‘अब डिस्प्ले खोल्दैमा नेप्से, सोबन तथा ब्रोकरलाई कुनै असर पर्दैन’, उनले भने, ‘सबैतिर सामान्य भइसक्यो, अब खोल्नुपर्छ।’
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले पनि अब अविलम्ब ब्रोकर हाउसका डिस्प्ले खोल्न माग गरिन्। ‘धेरै लगानीकर्ताले डिस्प्ले खोल्न माग गरिरहेका छन्’, उनले भनिन्, ‘अब नियामक निकाय कानमा तेल हालेर बस्न मिल्दैन।’
सक्रिय लगानीकर्ता मेघनाथ निरौलाले फिल्म हल र सपिङ मल खुलिसकेको अवस्थामा अब ब्रोकर हाउसहरुका डिस्प्ले बन्द राख्नुको कुनै औचित्य नरहेको बताए। ‘फिल्म हेर्ने बानी भएकाहरु घरमा टीभी छ भन्दैमा हलमा नजानु ?’, प्रतिप्रश्न गर्दै उनले भने, ‘अब अविलम्ब डिस्प्ले खोल्ने वातावरण नबने आन्दोलनमा जानुको विकल्प छैन।’
ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले ब्रोकर हाउसका डिस्प्ले खोल्ने विषयमा छलफल गर्न सकिने बताए।
नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले पनि यस विषयमा छलफल गरी अगाडि बढिने बताए। ‘अहिले बोर्ड अध्यक्ष पनि बिदामा हुनुहुन्छ’, उनले भने, ‘केही दिनमै उहाँ कार्यालयमा आउने कुरा छ, त्यसपछि यस विषयमा छलफल गर्छौं।’
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19