– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाली सेयर बजार अहिले बुलिस ट्रेन्डमा भएकाले धेरैजसो कम्पनीको मूल्यमा उछाल आएको छ। बजार बियरिसमा हुँदा नै लगानी गर्न सुरु गरेका अधिकांश लगानीकर्ताले राम्रै मुनाफा कमाउन सफल पनि भएका छन्।
अहिले सेयर बजारमा म्युचुअल फन्डहरूको मूल्यमा पनि उछाल आएको देखिन्छ। म्युचुअल फन्डमा लगानी गर्ने लगानीकर्ताहरूले पनि राम्रै मुनाफा कमाएका छन्।
गत वर्षको जनवरीमा ६.९८ मूल्य भएको लक्ष्मी इक्विटी फन्डको मूल्य अहिले १३.२८ रुपैयाँ, ८.३० रुपैयाँ रहेको एनआईबिएल समृद्धि फन्डको मूल्य अहिले १४.४१ रुपैयाँछ र ८.६६ रुपैयाँ रहेको सानिमा इक्विटी फन्डको मूल्य अहिले १६.३२ रुपैयाँ छ। अन्य म्युचुअल फन्डहरूको मूल्यमा पनि उछाल आएको छ।
लगानीकर्ताहरूलाई धेरैजसो म्युचुअल फन्डहरूले राम्रो लाभांश पनि दिँदै आएका छन्। घट्दो बजारमा नै म्युचुअल फन्डमा लगानी गर्ने लगानीकर्ताहरूले पनि राम्रै मुनाफा कमाएको देखिन्छ। तर नेपालमा म्युचुअल फन्डप्रति लगानीकर्ताहरूको दृष्टिकोण फरक रहेको पाइन्छ।
नेपालको तुलनामा विश्व बजारमा लगानीकर्ताहरूको म्युचुअल फन्डप्रति लगाव बेग्लै छ। उनीहरू म्युचुअल फन्डमा लगानी गर्न आतुर देखिन्छन्।
छिमेकी मुलुक भारतमा सरकारले नै नागरिकहरूलाई म्युचुअल फन्डमा लगानी गर्न प्रोत्साहन गरेको पाइन्छ। तर नेपालमा भने बजारका सक्रिय लगानीकर्ताहरू म्युचुअल फन्डमा लगानी गर्न चाहँदैनन्।
लगानीकर्ताहरूले म्युचुअल फन्डले बजार स्थिरताका लागि भन्दा नाफाउन्मुख भएर काम गरेको आरोप–प्रत्यारोप लगाउँदै आएका छन्। ‘निफ्रा नेप्सेमा लिस्टिङ हुँदा कम्पनीको मूल्यमा चलखेल गर्ने म्युचुअल फन्ड नै होइन?’, एक लगानीकर्ताले प्रश्न गर्दै भने।
बजारमा लगानी गर्दै गरेका लगानीकर्ता अभिषेक पौडेलका अनुसार म्युचुअल फन्डमा भन्दा दोस्रो बजारमा लगानी गर्दा धेरै नाफा हुने भएकाले लगानी नगरेको बताउँछन्। पौडेल भन्छन्, ‘बजार बियरिस हुँदा पनि राम्रो मुनाफा दिन सकेका छैनन्। त्यसैले म्युचुअल फन्डभन्दा रिस्क लिएर आफैँ लगानी गर्दा बढी फाइदा हुन्छ।’
अर्का युवा लगानीकर्ता निमेष दाहालका अनुसार म्युचुअल फन्डले बुलिस बजारमा राम्रो मुनाफा दिने तर बियरिसमा नदिने भएकाले आफूले लगानी नगरेको बताउँछन्। ‘म्युचुअल फन्डले बियरिस मार्केटमा पनि लगानीकर्ता सन्तुष्ट हुने गरी लाभांश दिएको छैन। के म्युचुअल फन्ड साँच्चै अनुभवी विशेषज्ञले सञ्चालन गर्दैछन्?’, उनले प्रश्न गर्दै भने।
म्युचुअल फन्डबाट राम्रो प्रतिफल नआउने भएकाले धेरैजसो बजारका सक्रिय तथा ठूला लगानीकर्ताले लगानी नगरे पनि नयाँ लगानीकर्ता भने लगानी गर्दै आएका छन्। बजारमा नवप्रवेशी लगानीकर्ता प्रभास धमला भन्छन्, ‘म्युचुअल फन्डमा रिस्क कम साथै लगानी पनि धेरै पर्दैन। त्यसैले लगानी गर्दै छु।’ धमलाले अहिले एनआईबिएल समृद्धि फन्ड, एनआईसी एसिया सेलेक्ट–३० फन्ड र प्रभु सेलेक्ट फन्डमा लगानी गरेका छन्।
अर्का एक नयाँ लगानीकर्ता भन्छन्, ‘म जस्तो आयस्रोत नभएको विद्यार्थीको लागि बजार बुझ्न म्युचुअल फन्ड राम्रो माध्यम रहेछ। म्युचुअल फन्डको पैसा वित्तीय क्षेत्रका अनुभवीहरूले लगानी गर्ने भएकाले रिस्क कम हुँदो रहेछ, त्यसैले म र मेरा साथीहरू अहिले म्युचुअल फन्डमा लगानी गर्दैछौँ।’
सक्रिय लगानीकर्ता विशाल कडरियाका अनुसार सेयर बजारबारे बुझ्न र सिक्न चाहने नयाँ लगानीकर्ताहरूका लागि म्युचुअल फन्ड उपयुक्त छ। तर, म्युचुअल फन्डहरूले लगानीकर्ताहरूलाई राम्रो रिटर्न नदिएको उनी बताउँछन्। कडरिया भन्छन्, ‘धेरै लगानीकर्ताहरू म्युचुअल फन्डमा लगानी गर्न इच्छुक छन्। धेरैले लगानी पनि गर्नु भएको छ। तर म्युचुल फन्डहरूले लगानीकर्ताहरूलाई चित्तबुझ्दो मुनाफा भने दिएको छैन।’
म्युचुअल फन्डले आईपीओको आरक्षणबाट नाफा लिनेमात्र गरेको कडरिया बताउँछन्। ‘बजार स्थिरताका लागि म्युचुअल फन्डहरूले केही योगदान भने गरेको छैन, बियरिस बजारमा हाइड्रोको आईपीओ पनि खरिद नगर्ने म्युचुअल फन्डहरूले बजार स्थिरताका लागि हो कि नाफाका लागि? उनले प्रश्न गर्दै भने, ‘लगानीकर्ताहरूले म्युचुअल फन्डमा भन्दा दोस्रो बजारमा राम्रो नाफा कमाउँछन् भने किन लगानी गर्ने? म्युचुअल फन्डले कमाएको नाफा लगानीकर्ताहरूको हातमा होइन प्रशासनिक खर्च र कर्मचारीको हातमा मात्र गएको छ।’
नेपाल मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा एनआईबिएल एस क्यापिटलका सहायक सीईओ मेखबहादुर थापाले बजारमा म्युचुअल फन्डबारे बजारमा धेरै अफवाह फैलाइएको बताए। ‘म्युचुअल फन्डहरूले राम्रै लाभांश दिँदै आएका छन्। लगानीकर्ताहरूले पनि लगानी गर्दै आउनु भएको छ। तर बजारमा भने म्युचुअल फन्डबारे नकारात्मक कुराको मात्र चर्चा हुन्छ’, थापा भन्छन्।
एनआईबिएल समृद्धि फन्डले १२ प्रतिशत, सानिमा इक्विटी फन्डले ७ प्रतिशत, नबिल इक्विटी फन्डले ६ प्रतिशतलगायत अन्य म्युचुअल फन्डहरूले राम्रै लाभांश दिएका छन्। ‘यो लाभांश लगानीकर्ताले नै पाउने होइन र ?’ थापाले प्रश्न गर्दै भने, ‘लगानीकर्ताहरूले लगानी गरेको भोलिपल्ट नै पैसा डबल होस् भन्ने चाहना हुन्छ तर कुन मुलुकको म्युचुअल फन्डले त्यस्तो रिटर्न दिन्छ ? बजारमा आफैँ लगानी गर्नुभन्दा म्युचुअल फन्डबाट लगानी गर्दा जोखिम कम हुन्छ। लगानीकर्ताले बुलमात्र हेरेर लगानी गर्नुहुन्छ। तर बियर मार्केटमा लगानीको जोखिम बढी हुन्छ।’
त्यसैले म्युचुअल फन्डबाट लगानी गर्दा बजार बुलिस/बियरिस भए पनि लगानीकर्ताहरूले राम्रो कमाउने थापाको दाबी छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago