काठमाण्डौ । लाभांश घोषणासँगै लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुमा झुम्मिएका छन्। 

अन्य सेक्टरभन्दा लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु लघुवित्तमा झुम्मिएका हुन्। आर्थिक वर्ष २०७७/७८ का लागि लघुवित्तहरुले अन्य कम्पनीको तुलनामा लोभलाग्दो लाभांश घोषणा गरिरहेका छन्। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ३ दर्जनभन्दा बढी लघुवित्तमध्ये १५ वटाले आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांश घोषणा गरिसकेका छन्। हालसम्म घोषित लाभांश लघुवित्तमध्ये अधिकांशले २० प्रतिशतभन्दा बढी नै लाभांश घोषणा गरेका छन्।

अहिलेसम्म लघुवित्तमा सबैभन्दा बढी स्वाभिमानले घोषणा गरेको छ। यो लघुवित्तले ३२.३ प्रतिशत बोनस र १.७ प्रतिशत नगद गरी ३४ प्रतिशत लाभांश घोषणा गरेको छ। 

यसैगरी सबैको लघुवित्तले ३२.६८ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांश रहेका छन्। 

त्यस्तै ग्लोबल आइएमई लघुवित्तले पनि २८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। लक्ष्मी लघुवित्तले पनि २० प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद गरी कुल २७.३६ प्रतिशत लाभांश घोषणा गरेको छ। 

अन्य ७ वटा लघुवित्तले पनि २० प्रतिशतदेखि २६.३१ प्रतिशतसम्म लाभांश घोषणा गरिसकेका छन्। अन्य ४ लघुवित्तले भने ५.४१ प्रतिशतदेखि १७.७९ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्। 

त्यसो त नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुको लाभांश लघुवित्तको तुलनामा कम देखिन्छ। हालसम्म ६ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। जसमध्ये अधिकांश लाभांश २० प्रतिशतभन्दा मुनि नै रहेको छ। 

अहिलेसम्म वाणिज्य बैंकमध्ये सबैभन्दा बढी सानिमाले १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १७ प्रतिशत बोनस सेयर रहेको छ। 

माछापुच्छ्रेले पनि १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश घोषणा गरेको छ। 

सिटिजन्स र नेपाल इन्भेस्टमेन्ट बैंकले समान १६ प्रतिशत लाभांश घोषणा गरेका छन्। जसमा बोनस सेयर क्रमशः १२.९१ प्रतिशत र ११.२४ प्रतिशत रहेका छन्।

स्ट्यान्डर्ड चार्टर्डले १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरी कुल १३.०३ लाभांश प्रस्ताव गरेको छ। 

सबैभन्दा कम कुमारी बैंकको देखिएको छ। यो बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

विकास बैंकतर्फ २ वटा बैंकले लाभांश प्रस्ताव गरेका छन्। जसमा सांग्रिला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक छन्। 

कामनाले १८.५ प्रतिशत बोनस र ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सांग्रिलाले पनि १० प्रतिशत बोनस र ०.५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

नेपाल ल्युब आयलले भने गत आर्थिक वर्षको ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश अनुमोदन गरिसकेको छ। युनिलिभरले पनि प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उता निफ्राले पनि सेयरधनीहरुलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

समग्रमा अन्य कम्पनीभन्दा लघुवित्तको लाभांश आकर्षक देखिएको छ। सोही कारणले पनि लगानीकर्ताहरु लघुवित्तमा आकर्षित भएको जानकारहरु बताउँछन्।

यो समाचार तयार पार्दासम्म लघुवित्त समूहमा ५.५४ प्रतिशतले उकालो लागिसकेको छ। अहिलेसम्म ९ वटा लघुवित्तसहित ११ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागिसकेको छ। 

ग्रामीण विकास लघुवित्त, किसान, जनउत्थान सामुदायिक, ग्लोबल आइएमई लघुवित्त, सपोर्ट, सामुदायिक र सबैको लघुवित्तको सेयरभाउ १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। नयाँ सारथि लघुवित्त र समता लघुवित्तको सेयरभाउ पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यतिबेलासम्म मैलुङ खोला जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। 

अहिलेसम्म नेप्से परिसूचक ५८.९१ अंकले बढेर २६७१.५५ को विन्दुमा उक्लिएको छ। नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ भने कारोबार रकम पनि २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।