काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को निर्देशनमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को अवितरित हकप्रद सेयरको लिलामीमा स्थगित गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज एक सूचना जारी गर्दै सेबोनको फागुन १२ गतेको पत्रानुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि लिलामी बढाबढमार्फत बिक्री गर्ने कार्य हाललाई स्थगित गरिएको जानकारी गराएको छ।  

फागुन १ गतेबाट एचआईडीसीएलको संस्थापक समूहको अवितरित ३ करोड ३० लाख कित्ता हकप्रद सेयर लिलामीमा राखिएको थियो। यसमा बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन १५ गतेसम्म तोकिएको थियो। 

एचआईडीसीएलका प्रवक्ता जीवनकुमार बस्नेतले अवितरित हकप्रदको लिलामी सूचना प्रकाशित गर्दा अस्पष्ट भएको भन्दै हाललाई स्थगित सेबोनले निर्देशन दिएको बताए। ‘सेबोनले पत्र पठाउँदै यो लिलामी सेयर कुन समूहमा कसरी कारोबार हुन्छ भन्ने सूचनामा स्पष्ट नभएकोले हाललाई लिलामी बढाबढमार्फत बिक्री गर्ने कार्य स्थगित दिएको छ’, उनले भने, ‘सोही कारण अहिलेलाई रोकिएको हो।’

बस्नेतले आज वा आइतबार सेबोनमा यस विषयमा छलफल हुने बताए। ‘अहिलेसम्म प्राप्त बोलपत्र (आवेदन) के गर्ने निर्णय भन्ने विषयमा सेबोनसँग छलफल गरेमात्र हुन्छ’, उनले भने।

केही समयअघि बिजशालासँग कुरा गर्दै बस्नेतले संस्थापक सेयर लिलामीपछि संस्थापक समूहअन्तर्गत उपसमूह क–२ को अन्य संस्थापकमा रहने र नेप्सेमा सहजै खरिदबिक्री गर्न सकिने बताएका थिए। ‘हाल यो कम्पनीको सम्पूर्ण सेयर (संस्थापक र सर्वसाधारण) नेप्सेमा एउटै कोड (एचआईडीसीए) मा सूचीकृत छन्’, उनले भनेका थिए, ‘शिलबन्दी बोलपत्रद्वारा बिक्री गरिने सेयरमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्थाअनुसार कुनै लक–इन अवधि रहने छैन।’