काठमाण्डौ । भारतमा एकाएक आकासिएको टमाटरको मूल्यमा ठूलो गिरावट आएको छ। प्रतिकिलोग्राम २०० भारुसम्म पुगेको टमाटरको मूल्य एक महिना पनि नबित्दै प्रतिकिलो ५ भारुमा झरेको छ।

एक महिनाअघि भारतका विभिन्न सहरमा टमाटरको मूल्य प्रतिकिलो २०० देखि २५० भारुसम्म पुगेको थियो। तर, एकाएक टमाटरको मूल्य घट्न थालेपछि कृषक चिन्तित बनेका छन्। 

भारतका कतिपय सहरमा अहिले प्रतिकिलो ३ देखि ४ भारुमा टमाटर खरिद–बिक्री भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

भारतमा टमाटरको मूल्यमा एकाएक घटबढ भएपछि त्यहाँका कृषकले लागतको आधा रकम पनि टमाटर बिक्रीबाट असुली नहुने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन्। भारतको पुणेका स्थानीय कृषि कार्यकर्ता सचिन होलकरले टमाटरलगायतका कृषि फसलको मूल्यमा हुने उतारचढावलाई रोक्नका लागि सरकारले न्यूनतम समर्थन मूल्य(एमएसपी) लागू गर्नु अनिवार्य रहेको बताए। उनका अनुसार एक एकड जमिनमा टमाटर उत्पादनका लागि एकजना कृषकलाई २ लाख भारु पुँजीको आवश्यकता पर्दछ।

मागअनुसारको उत्पादन तथा आपूर्ति नभएपछि सोही समयमा नेपाल र भारत दुवैतर्फ टमाटरको मूल्य अस्वभाविक रुपमा बढेको थियो। 

अहिले नेपालमा टमाटरको खुद्रा मूल्य प्रतिकिलो १०० रुपैयाँ नै छ। टमाटरको मूल्य गत असार महिनामा ग्रामीण क्षेत्रमा प्रतिकिलो १५० रुपैयाँ र सहरी क्षेत्रमा २०० रुपैयाँ पुगेको थियो। भारतमा टमाटरको मूल्य आकासिएपछि असार मध्यदेखि नेपालका नेपालगन्ज, भैरहवा, काँकडभिट्टा तथा अन्य सीमानाकाबाट यसको तस्करी हुन सुरु भएको थियो। यसले सर्वसाधारणलाई मर्का परे पनि तस्करहरुले भने कमाउने अवसर पाएका थिए। कृषि फसल निकासीमा प्रतिबन्धका कारण भारतको तुलनामा नेपालमा टमाटरको मूल्य सस्तो भएको हो। 

तस्करहरुले दुवै देशको बजार हेरिरहेका हुन्छन् र दुई देशबीच मूल्य फरक भए समान मूल्यमा तस्करी गर्न थाल्छन्।

भारतमा टमाटरको अभाव र आयातमा प्रतिबन्ध रहेको अवस्थामा महँगोमा बिक्री हुने भएकाले सीमावर्ती नेपालबाट अवैध तरिकाबाट टमाटर भारत निकासी भएको हो। नेपालमा यो वर्ष टमाटर खेती ठूलो मात्रामा भएको र भारतीय बजारमा वर्षाका कारण उत्पादन कम हुँदा मूल्य बढेपछि नेपालबाट टमाटर तस्करी भएको हो। 

गत जेठ महिनामा प्रतिकिलो २ रुपैयाँमा पनि बिक्री भएन भनेर यहाँका कृषकले टमाटर सडकमा फालेका थिए। तर, अहिले पनि टमाटरको होलसेल तथा खुद्रा मूल्यमा उच्च दर कायम नै छ। 

ठूलो परिमाणमा उत्पादन हुने सागसब्जी भन्सारमार्फत भारत निकासी गर्न नपाउँदा यहाँका कृषकहरुले वर्षौंदेखि कृषि उत्पादनबाट अपेक्षाकृत रुपमा लाभ लिन सकेका छैनन्।