काठमाण्डौ । अमेरिकी डलरको मूल्य कीर्तिमानी उचाईमा पुगेको छ ।

पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ ।नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३३.५५ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो ।

यसअघि यही गत असोज ७ गते भने डलरको विनिमय दर १३३.५४ रुपैयाँ पुगेको थियो । त्यसयता डलरको भाउमा झिनो कमी देखिए पनि १३३ रुपैयाँभन्दा तल झरेको छैन । 

अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ। रुस युक्रेन युद्धका कारण विश्वबजारमा डलरको माग बढिरहेकाले  मूल्य बढेको हो ।

डलरको भाउ बढेपछि भारुतीय रुपया पनि घटेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । यसकारण डलरको तुलनामा भारुको मूल्य घट्दा नेपाली रुपैयाँको मूल्य पनि घट्ने गर्दछ ।यतिमात्र नभई नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ हुँदा नेपाली  रुपैयाँ पनि प्रभावित हुन्छ ।  

पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार बृद्धि हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव परेको छ। तर, नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मकसमेत पर्ने जानकारहरू बताउँछन् ।

नेपालको वैदेशिक व्यापार स्थिति  निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमा समेत असर पार्छ ।

त्यस्तै डलरको भाउ बढ्नेबित्तिकै आयातीत वस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको साँवा र ब्याजको परिणाम डलरको मूल्यसँगै बढ्ने हुन्छ ।

डलरको मूल्य बृद्धि हुँदा विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई असर पर्दछ ।

लगानीकर्ताहरू विश्वव्यापी अर्थतन्त्र दबावमा रहँदा डलर किन्न चाहन्छन् किनभने उनीहरु डलरमा गरेको लगानी  ‘सुरक्षित लगानी’ हुन्छ भन्ने ठान्छन्। त्यसले पनि मूल्यलाई बढाउँछ।