काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ निष्कासनको तेस्रो दिनसम्म करिब ९१ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले गत असार २६ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ। 

अब २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको छ। 

सीडीएससीका अनुसार यो आईपीओमा आज साँझ ५ बजेसम्म ८ लाख ५० हजार ६९१ आवेदकबाट कुल ९१ लाख ७८ हजार १२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ९०.७४ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी १० हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन्।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

यो आईपीओको निष्कासन बन्द भोलि असार २९ गते बैंकिङ समयपछि हुनेछ। 

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।