काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आउँदो आइतबार (साउन ७ गते) बाँडफाँड गरिने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँड गर्ने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम आइतबार बिहान ९ बजे एनएमबि क्यापिटलको कार्यालयमा राखिएको छ। 

कम्पनीले गत असार २६ गतेदेखि असार २९ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो। बाँकी रहेको सेयरमध्ये २ प्रतिशतले हुन आउने २ हजार ४३७ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

यो आईपीओमा निष्कासनको अन्तिम दिनसम्म ११ लाख ८ हजार २३२ आवेदकबाट कुल १ करोड १८ लाख ९० हजार ६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ११७.५४ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी १० हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन्।