काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले कुनै घराना वा व्यक्तिलाई लक्षित गरी आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा करका दरहरु निर्धारण नगरिएको स्पष्ट पारेका छन्।
सांसदहरुले उठाएका प्रश्नको जबाफ आज प्रतिनिधिसभामा दिने क्रममा अर्थमन्त्री महतले यस्तो स्पष्ट पारेका हुन्। ‘करका दरहरुको समग्रमा भन्ने हो भने र्यासनलाइज गर्ने कुरा हामीले गरेका छौँ’, उनले भने, ‘कुनै एउटा लक्षित घराना, उद्योग–व्यवसाय वा व्यक्तिमा केन्द्रित रहेर निर्धारण गरेका होइनौँ।’
अर्थमन्त्री महतले बजेट राजश्व वृद्धि र अर्थतन्त्र चलयामान बनाउने कुरामा केन्द्रित रहेको दाबी पनि गरे। ‘भ्याट संकुचन हुँदै थियो। जसले गर्दा राजश्वको दायर घट्दै गएको थियो’, उनले भने।
अर्थमन्त्री महतले भ्याटको विषयलाई लिएर आफ्ना दाजु डा रामशरण महतलाई पनि सम्झिए ‘म खुसी महसुस गर्दछु कि मेरै दाइ डा रामशरण महत जुन बेला अर्थमन्त्री हुनुहुन्थ्यो। उहाँले यो भ्याट नेपालमा प्रवेश गराउनुभएको थियो’, उनले भने, ‘त्यतिबेला ठूलो विरोध भएको थियो। कुनै पनि नयाँ कुराहरु आउँदा यसले के–के न हुने हो भने विरोध हुन्थ्यो। उद्योगी–व्यवसायीदेखि सबैले जुलुस सहमा उत्रिएको थियो। तर त्यसका बाबजुद यो आवश्यक र यो वैज्ञानिक कर प्रणाली हो भनेर लागू भयो। त्यसपछि त्यसले राम्रो प्रभाव दिन थाल्यो।’
‘फेरि विस्तार हामीले नै भ्याटलाई कटौती गर्दै लग्यौँ’, उनले भने, ‘हरेक वर्ष एउटा समूह आउँछ र यो हटाइदेऊ भन्छ। फेरि अर्को समूह आउँछ अनि यो हटाइदेऊ भन्छन्। यसरी कटौती गर्दै जाँदा राजश्वको दायरा खुम्चिन पुगेको हो। त्यो जुन वैज्ञानिक कर प्रणाली थियो, त्यसलाई हामीले कमजोर पार्दै गयौँ। हामीले पुनः प्रवेश गराउने कोसिस गरेका छौँ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago