– प्रकाश न्यौपाने

काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको शिवम सिमेन्ट दोस्रो बजारमा कारोबार भएदेखि नै लगानीकर्ताले निकै रुचाएको कम्पनी हो। शिवम सिमेन्टले स्थानीयलाई प्रतिकित्ता ३०० रुपैयाँ र सर्वसाधारणलाई ४०० रुपैयाँमा आईपीओ बिक्री गरेको थियो। 

सुरुआती समयमा लगानी गरेका र उच्च विन्दुमा बिक्री गरेका लगानीकर्ताले भने मनग्य कमाउन सफल पनि भए। तर, राम्रो कम्पनी मानेर दीर्घकालका लागि भनेर उच्च विन्दुमा लगानी गर्ने लगानीकर्तालाई भने अहिले निकै घाटा भएको देखिन्छ। 

दोस्रो बजारमा प्रतिकित्ता १९०० रुपैयाँसम्म पुगेको शिवम सिमेन्टको सेयरमूल्य आज ४०० रुपैयाँ कायम भएको छ। 

आधारभूत र प्राविधिक अध्ययन विना नै हल्लाका भरमा यो कम्पनीको सेयर १५०० रुपैयाँदेखि १६०० रुपैयाँसम्म खरिद गरेका स्थायी ठेगाना लमजुङ बताउने रामभक्त देवकोटा आफूलाई शिवम सिमेन्टको सेयरमा ७५ प्रतिशतभन्दा बढी घाटा भएको गुनासो गर्छन्। ‘करिब डेढ वर्षअघि बजारको माहोल राम्रो थियो। साथीभाइ र निकै जान्ने पुराना लगानीकर्तासँग सल्लाह गर्दा पनि उत्पादनमूलक क्षेत्र समूहको सेयरमा लगानी गर्नुपर्ने बताए’, उनले भने, ‘त्यति बेला हटकेकका रुपमा हिमालयन डिस्टिलरी र शिवम सिमेन्टको चर्चा थियो। हिमालयन डिस्टिलरीको सेयर निकै महँगो भएकोले भविष्यका लागि शिवम सिमेन्ट नै उपयुक्त हुने सल्लाह पाएँ र किनेर राखेँ।’ 

सेयर बजारमा लगानीकर्ताको मनोविज्ञान देखेर आफू छक्क परेको देवकोट बताउँछन्। ‘अधिकांश लगानीकर्ता बजार घटेका बेलाभन्दा पनि बढेर उच्च विन्दुमा पुगेका बेला बैंक खाता नै रित्तो बनाएर सेयर खरिदका लागि तछाडमछाड गर्ने गर्छन्’, उनले भने, ‘म पनि त्यतिबेला नयाँ–नयाँ भएकोले हौसिएर लगानी गरेँ।’ 

डेढ २ वर्षपहिले ३१ लाख रुपैयाँको लगानी गरेकोमा अहिले घटेर ८ लाख रुपैयाँमा झर्दा घरपरिवार र आफन्त सबैले थाहा पाएका कारण आफू सीधा अनुहार बनाएर हिँड्न नसकेको देवकोट बताउँछन्। ‘सोसल मिडियाका कारण पनि म सेयर बजारमा फसेँ’, उनले भने, ‘साथीभाइसँग सापटी लिएर सेयर बजारमा लगानी गरेँ, अहिले तिर्न नसकेर समाजमा मुख देखाउन पनि समस्या भइसकेको छ। देशै छाडेर १–२ वर्षका लागि विदेशतिर हानिनुपर्छ कि क्या होजस्तो बनायो।’

सेयर बजारमा उल्टो बाटो हिँडेकोमा देवकोटालाई अहिले पछुतो लागेको छ। ‘४०० रुपैयाँमा किन्नुपर्ने सेयर १६०० रुपैयाँमा किनेपछि कसरी नाफा होस् ?’, उनले भने। 

घटेको बजारमा लगानी गर्नुपर्ने पाठ आफूले सिकेको देवकोटाले बताए। ‘अहिले अधिकांश कम्पनीको सेयरभाउ घटेर न्यून स्तरमा झरेको छ’, उनले भने, ‘यस्तो बेलाचाहिँ लगानी गर्ने उपयुक्त समय रहेछ।’

अब विस्तारै लगानी गर्दै जान सकेमा आउने बुलमा सबै ऋण तिर्न सक्ने विश्वास देवकोटामा रहेको छ। उनले भने, ‘आफैँले अध्ययन गरेर राम्रा कम्पनीमा  यो समयमा लगानी गर्दा घाटा हुँदैन भन्नेमा म ढुक्क छु।’