काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापन सञ्चालन हुने रु. ८० करोडको ‘कुमारी इक्विटी फन्ड’ मा आवेदन दिने म्याद लम्बिएको छ। 

क्यापिटलका अनुसार अब यो फन्डमा ढिलोमा फागुन २८ गतेसम्म आवेदन दिन सकिन्छ। तर यदि मागभन्दा बढी आवेदन परेमा फागुन २८ गतेभन्दा अघि नै निष्कासन बन्द गर्न सकिने पनि क्यापिटलले जनाएको छ। 

यसअघि यो फन्डको निष्कासन बन्द छिटोमा फागुन १८ गते र ढिलोमा फागुन २८ गते बन्द हुने भनिएको थियो। तर फागुन १८ गतेसम्म मागबमोजिम आवेदन नपर्ने देखिएपछि निष्कासन म्याद थप गरिएको हो।  

दसवर्षे बन्दमुखी यस योजनाका रु. १० अंकित दरका कुल ८ करोड इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाइ कोष प्रबद्र्धक कुमारी बैंकका लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको हो। यस योजनाका इकाइमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीअन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ। आवेदन गर्दा न्यूनतम १०० इकाइ र अधिकत ८० लाख इकाइसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ। 

कुमारी क्यापिटलले इक्रा नेपालबाट एएमसी ३ रेटिङ प्राप्त गरेको छ।