काठमाण्डौ । कुमारी इक्विटी फन्डको इकाइहरु आज बिहीबार बाँडफाँड गरिएको छ।

गत फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म निष्कासन गरिएको यो फन्डका इकाइहरु आज बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ। कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने यो फन्डका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ निष्कासन गरिएको थियो। तर आवेदन खुला गरिएको दिनसम्म मागभन्दा अधिक दरखास्त परेपछि सामूहिक लगानी कोष निर्देशिकामा रहेको व्यवस्थाबमोजिम कुल इकाइको २५ प्रतिशत थप गरी इकाइ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार १५ प्रतिशत बिजपुँजीबापतको १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाइ क्यापिटलको काठमाण्डौको नक्सालमा रहेको नागपोखरीस्थित कार्यालयमा बाँडफाँड गरिएको हो। 

क्यापिटलका अनुसार यो फन्डमा जम्मा ९४ हजार ७९४ आवेदकमध्ये रितपूर्वक आवेदन दिने ९४ हजार ७३३ आवेदकलाई इकाइ बाँडफाँड गरिएको छ। जसमा सर्वसाधारण आवेदक ९४ हजार ६६१ जनाबाट ३ करोड ९२ लाख ३१ हजार १० इकाइ र विभिन्न ७५ संघसंस्थाबाट ५ करोड ३९ लाख २२ हजार ३०० इकाइका लागि आवेदन परेको थियो। दोहोरो आवेदन दिने ६१ आवेदकको आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार इकाइ १०० देखि २० लाख इकाइसम्म आवेदन गर्ने आवेदकले मागबमोजिम नै इकाइ बाँडफाँड गरिएको छ। २० लाख इकाइभन्दा माथि अर्थात इकाई २५ लाखदेखि ५० लाख इकाइसम्म माग गरी दरखास्त दिने जम्मा ७ जना प्रत्येक आवेदकलाई २४ लाख ६ हजार ६७० इकाइका दरले जम्मा १ करोड ६८ लाख ४६ हजार ६९० इकाइ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।