काठमाण्डौ । बैंक तथा डिम्याट इन्टीग्रेसन लगायतका पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीका पूर्वाधार मानिएका व्यवस्थाको शीघ्र कार्यान्वयनमा नेपाल स्टक एक्सचेञ्ज गम्भीर नदेखिँदा अवस्था कति लाजमर्दो बन्यो भन्ने कुरा देखिएको छ।
नेप्सेले बुधबार प्रकाशन गरेको विज्ञप्तिबाट उसको ढिलासुस्ती, अनलाइन कारोबार प्रणाली लगानीमैत्री बनाउन नसकिएको यथार्थ र यसका लागि आवश्यक पूर्वाधारमा तीव्र काम गर्न नसक्दा लगानीकर्ताको यो प्रणालीप्रति चासो समेत बढ्न नसकेको देखिएको हो ।
बजारसँग सम्बद्ध विभिन्न निकायले देशमा सेयर लगानीकर्ताको संख्या १५ लाख रहेको दाबी गर्दै आएका छन् । १५ लाख लगानीकर्ता भएको देशमा बल्लतल्ल आएको अनलाइन प्रणालीबाट आफैं कारोबार भने हालसम्म ३ जनाले मात्र गर्न पाएका नेप्सेको विज्ञप्तिमा उल्लेख छ ।
नेप्सेले मंसिर २३ गतेदेखि ब्रोकरहरुले पत्याएका लगानीकर्ताले मात्र कारोबार गर्न पाउने भनी कार्यतालिका सार्वजनिक गरेको थियो । देशमा ५० वटा ब्रोकर छन् । सबैले पत्याएका एक÷एक लगानीकर्ताको हिसाब गर्दा पनि हालसम्म ५० जनाले कारोबार थालिसकेको हुनुपर्ने हो । तर, ३ जनाले मात्र कारोबार गर्न थालेको भन्दै नेप्सेले आफ्नो प्रगतिविवरण सार्वजनिक गरेको छ, जुन त्यति पत्यारलाग्दो छैन ।
हालसम्म पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको बाधक मानिएको बैंक र डिम्याट इन्टीग्रेसन नभएकै कारण लगानीकर्ता यूजर नेम र पासवर्ड लिन समेत इच्छुक देखिएनन् भन्ने कुरा समेत देखिएको छ । नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुसार मंसिर २६ गते बुधबारसम्म २२ जना ग्राहकले मात्र सम्बद्ध सदस्य दलालसँग सम्झौता गरी यूजरनेम र पासवर्ड लिएका छन् ।
धितोपत्र दलाल व्यवसायीहरुका अनुसार बैंक र डिम्याट इन्टीग्रेसनबिना पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा कारोबार गर्न सकिन्न । उनीहरुले डिम्याट र बैंक इन्टीग्रेसनको काम चाँडो सक्न भनी नेप्सेलाई पत्राचार समेत गरिसकेका छन् । तर, नेप्से भने इन्टीग्रेसनबिना नै ३ जनाले अनलाइन कारोबार थालेका दाबी गर्दै विज्ञप्तिबाजीमा उत्रिएको छ ।
मंसिर २४ गते स्टक ब्रोकर एशोसिएसन अफ नेपालले नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाई पत्र लेख्दै मंसिर २३ गतेबाट लगानीकर्तालाई युजर नेम र पासवर्डको प्रयोग गरी सेयर कारोबार गर्न दिने भनिए पनि विभिन्न समस्याले कठिनाई हुन आएको प्रष्ट पारेको छ । ब्रोकरकै छाता संगठनले यसो भनिरहँदा कहाँका २२ लगानीकर्तालाई कसले यूजर नेम र पासवर्ड दियो भन्ने कुरा नेप्सेले प्रष्ट पार्नुपर्ने देखिन्छ ।
एशोसिएसनले अनलाइन प्रणालीमा डिम्याट खाता आबद्धता नभई अनलाइनमार्फत कारोबार गर्न दिन हुन्न भनी आफूहरुले बारम्बार भन्दै आएको, हालसम्म पनि सो काम नभएको र ग्राहकले सो प्रणालीबाट सेयर खरीदबिक्री गर्दा नभएको सेयर, बैंक बिक्री हुने, डिम्याट खाताको भएको भन्दा बढी सेयर बिक्री हुनसक्ने, भूलवश वा नियतवश त्यसरी बिक्री हुँदा उत्पन्न हुने क्लोजआउटको आर्थिक भारको समस्या विकराल आउने भनेको छ । ब्रोकर एशोसिएसनले अहिलेको अवस्थामा अनलाइन कारोबार हुनै नसक्ने ठोकुवा गरिरहँदा नेप्सेले उल्लेख गरेजस्तो कुन कुन ३ जना लगानीकर्ताले अनलाइन कारोबार गर्न थाले भन्ने कुरा समेत प्रष्ट पार्नुपर्ने बाध्यता देखिन्छ ।
स्टक ब्रोकर एशोसिएसनले त स्पष्ट रुपमै अनलाइन प्रणालीमा डिम्याट खाता आबद्धताको समस्या समाधान नभई ग्राहकहरुलाई अनलाइन प्रणालीको यूजर नेम र पासवर्ड उपलब्ध गराए पनि त्यो औचित्यहीन हुने बताइसकेको छ । उसले पत्रमा स्पष्ट रुपमा यो समस्या समाधान नभएसम्म यूजर नेम र पासवर्ड लगानीकर्तालाई उपलब्ध गराउनै नसकिने अडान लिएको देखिन्छ । यस्तो अवस्थामा समस्या नै समाधान भई कहाँबाट यूजर नेम र पासवर्ड रिलिज भयो, नेप्सेले जवाफ दिनुपर्ने देखिएको छ ।
नेप्से आफैंले विज्ञप्तिमा डिम्याट र बैंक इन्टीग्रेसनको काम सकी कारोबार संचालन गर्ने आवश्यक तयारी भइरहेको बताएको छ ।
नेप्सेले अनलाइन कारोबार प्रणालीमा भइरहेको ढिलाई र यो प्रभावकारी हुन नसक्नुको दोष लगानीकर्ताको टाउकोमाथि थोपर्ने काम गरेको छ ।
विज्ञप्तिमा सदस्य दलालसँग यूजरनेम तथा पासवर्ड माग गरेका कतिपय लगानीकर्ताको हितग्राही खाता सम्बन्धी विवरण पूर्ण रुपमा उपलब्ध नभएको, एउटै हितग्राही खाता धेरै सदस्य दलाल तथा ग्राहकको कारोबार खातामा देखिन गएको दाबी गरिएको छ ।
नेप्सेले हतारमा विज्ञप्ति सार्वजनिक गरेर प्रगति विवरण देखाउन खोजेको हो या लगानीकर्ताको आँखामा छारो हाल्दै नेप्से गेटमा बढ्दो आक्रोशलाई मत्थर पार्न खोजेको हो, लगानीकर्ता अन्यौलमा परेका छन् । लगानीकर्ता विभिन्न माग राखेर अनसनमा बसिरहेका बेला नेप्सेबाट भइरहेको ढिलासुस्ती र लगानीकर्ता तथा सरकारका उच्च अधिकारीलाई बेवकुफ बनाउने कामको पर्दाफास भएसँगै आन्दोलनको तीर आफूतिर सोझिने डरले नेप्से नेतृत्वले विज्ञप्तिबाजीको फण्डा गरेको कतिपयको दाबी छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago