►राजाराम कार्की
काठमाण्डौ । झन्डै कुल जनसङ्ख्याको दुई तिहाइ अर्थात् एक करोड ७६ लाख ६३ हजार कृषि पेसामा संलग्न रहे पनि मुलुकलाई खाद्यान्न अपुग छ ।
विसं २०३५ सालसम्म नेपालबाट धान, चामल, गहुँ, मकैलगायतका अन्नबाली भारततर्फ निकासी हुन्थ्यो । अहिले मासिक रु एक अर्बको चामल आयात गर्ने देशको सूचीमा नेपाल पर्छ ।
मुलुकलाई कृषि प्रधान देश भनिए पनि यस वर्ष रु ४५ अर्ब बराबरको तरकारी, फलपूmल, मासुजन्य वस्तु र रु ५५ अर्ब बराबरको चामल, गहुँ, तेल, दाललगायतका वस्तुको आयात गरेको बल्खु तरकारी बजार निर्देशनालयले जनाएको छ ।
कृषि उत्पादनमा वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम हुन्छ । तर, पछिल्लोपटक कृषि उत्पादनमा ह्रास आउन थालेपछि भारतसँगको व्यापार घाटा चुलिएको छ । चालु आबमा भारतसँग नेपालको व्यापार घाटा रु ८ खर्ब पुग्ने नेपाल राष्ट्र बैंकको अनुमान छ ।
राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । छैटौँ कृषि गणना २०६८ ले एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको र कृषिबाटै रोजगार गर्न चाहनेका लागि राज्यले सहयोग नगरेको गुनासो गरेको देखाएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्व गभर्नर डा युवराज खतिवडा भूमिहीन, सीमान्तकृत र कृषि मजदुरका हातमा खेतीयोग्य जमिन नहुन्जेल कृषिको उत्पादन बढाउन मुस्किल पर्ने बताउँछन्। ।
कृषि गणना, २०६८ अनुसार कृषि मजदुर २० र भूमिहीन सीमान्तकृत वर्ग १५ प्रतिशत रहेको छ । सरकारले पछिल्लोपटक जमिनको चक्लाबन्दी, सामूहिक, करार र सहकारी खेतीको अवधारणा अगाडि सारे पनि त्यसको सफल कार्यान्वयन हुन सकेको छैन ।
कृषि गणना, २०६८ अनुसार एक लाख २९ हजार हेक्टर जमिन बाँझो छ । एक हेक्टर बराबर २० रोपनीका दरले २५ लाख ८० हजार रोपनी जग्गा पूर्णरुपमा बाँझो भएको कृषि विकास मन्त्रालयका सचिव डा सुरज पोखरेलले जानकारी दिए। तीन रोपनी जग्गामा खेती गर्दा करिब पाँच व्यक्ति पालिन्छन् भने २५ लाख ८० हजार रोपनी जग्गामा खेती गर्दा पाँच लाख १६ हजार व्यक्तिको राम्रो पालनपोषण हुन्छ ।
पढेलेखेका सहर केन्द्रित हुनु र जमिन खनजोत गर्ने समुदायसँग जग्गा नहुनु नै खाद्यान्न अभावको मुख्य कारण रहेको पूर्व मन्त्री केशव बडालको भनाइ छ । सीमित व्यक्तिका हातमा प्रचुर जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीकरण, परम्परागत आकासे खेतीमाथि निर्भर र सिँचाइको अभाव कृषि क्षेत्रका समस्या हुन् ।
कुल गार्हस्थ्य उत्पादनमा करिब ३५ प्रतिशत योगदान रहेको कृषि क्षेत्रलाई आर्थिक समृद्धिको दरिलो आधार मान्न सकिन्छ । दश वर्षमा गहुँ छ, मकै १२, कोदो १९, जौ ३५, फापर ४०, कोसे दाल बालीमा २१, तोरीमा १३ प्रतिशतले उत्पादन घटेको तथ्याङ्क छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago