काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमीटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निश्कासन गरेको छ । 

यो कम्पनी कृषि क्षेत्रमा काम गर्ने देशकै पहिलो पब्लिक कम्पनी पनि हो । मुक्तिनाथ विकास बैंक, क्यापिटल लगायतका प्रमोटरहरुकै लगानीमा यो कम्पनी स्थापना भएको हो । 

यो कम्पनी कृषि क्षेत्रबाट आईपीओ जारी गर्ने देशकै पहिलो कम्पनी पनि हो । 

आज(मंसिर ८ गते) देखि बिक्री खुल्ला भएको यो कम्पनीको आइपीओमा छिटोमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिन्छ । 
कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर रु. १०० का दरले बिक्री खुलाएको हो । 

कुल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीले २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन प्रक्रिया अगाडि बढाएको थियो ।

कुल १४ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकिएको छ । 

यस्तै, कुल निश्कासन हुने कित्ताको ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता म्युचुअल फण्डहरुका लागि, ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो । 

कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

यो कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । प्रमोटरहरुबाट ५६ करोड जम्मा भइसकेको छ भने आइपीओपछि कुल चुक्तापूँजी ७० करोड हुनेछ । 

कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर हिस्सा अनुपात ८०ः२० प्रतिशत हुनेछ ।