काठमाण्डौ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को खानेपानी महसुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ।

खानेपानी सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सु्भास सापकोटा र केयूएलका तर्फबाट कामु उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षर गरेका छन्। 

योसँगै इसेवामार्फत केयूकेएलका ठिमी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर, बानेश्वर, महाँकालचौर, ललितपुर, महाराजगन्ज शाखाका ग्राहकले इसेवाबाटै महसुल भुक्तानी गर्न सकिन्छ। यसले आमखानेपानी ग्राहकको ठूलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ। हाल देशभर रहेका सयौँ खानेपानी समितिहरुको खानेपानी महसुलसमेत इसेवाबाट भुक्तानी गर्न सकिन्छ।

इसेवा प्रयोगकर्ताले मोबाइलबाटै सीधै अनलाइनबाट शुल्क भुक्तानी गर्न सकिन्छ भने इसेवा अकाउन्ट नभएका ग्राहकहरुले आफ्नो नजिकै रहेका जोन तथा पोइन्टमार्फत रकम भुक्तानी गर्न सकिन्छ।

मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या ५० लाख पुगेको छ। 

यसैगरी अप्रत्यक्ष रुपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब १ लाख ३० हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। 

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।